गायिका एलिना चौहानले घरेलु हिंसा र बलात्कार जस्ता गम्भीर विषयमा आवाज उठाउन ठूलो साहस आवश्यक पर्ने बताएकी छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले हिंसामा परेका व्यक्तिहरूको पीडा सुन्न र बुझ्न समाजलाई आग्रह समेत गरेकी छन्। ‘कसैले आफ्नो पीडा सुनाइरहेको छ भने सुन, सुन्न सक्दैनौ भने चुप लागेर बस तर आफ्नो बलात्कारी सोच कमेन्टमा नबर्साऊ,’ उनले लेखेकी छन्।
उनले घरेलु हिंसा र बलात्कारका घटनामा पीडितहरू बोल्न डराउने वातावरण समाजकै सोचका कारण सिर्जना हुने बताएकी छन्। ‘घरेलु हिंसा र बलात्कारजस्ता विषयमा आवाज उठाउन ठूलो साहस चाहिन्छ। तिमीहरूकै सोचका कारण धेरैले बोल्ने हिम्मत गर्न सक्दैनन् र बोले पनि पछि पछुताउन बाध्य हुन्छन्,’ उनले लेखेकी छन्।
एलिनाले पीडितलाई दोष दिने प्रवृत्ति समाजमा रहेको भन्दै यस्तो सोच कहिले अन्त्य हुने भन्ने प्रश्नसमेत उठाएकी छन्।
प्रकाशित: २० चैत्र २०८२ ११:४२ शुक्रबार