समाज

बाढीपीडितलाई बन्दी बनाएर राखेजस्तो देखियो : आयुश सिंह ठकुरी

टिकटकर तथा इन्फ्लुएन्सर आयुश सिंह ठकुरीले रसुवाका बाढीपीडितलाई राहत वितरणमा अवरोध भइरहेको बताएका छन्। 

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुगेका ठकुरीले आफू बिहान ७ बजे राहत लिएर प्रभावित क्षेत्रमा पुगे पनि राहत वितरण गर्न दिउँसो २ बजेसम्म कुर्नुपरेको बताएका छन्। उनले व्यक्तिगत रूपमा वास्तविक पीडितको पहिचान गरी आफ्नै हातबाट राहत वितरण गर्न खोज्दा समेत समस्या भएको बताए। 

ठकुरीले राहत वितरणका लागि बनाइएका होल्डिङ सेन्टरमा रहेका पीडितको अवस्था समेत समस्याग्रस्त रहेको बताए। साथै त्यहाँ पीडितलाई भेट्न, फोटो खिच्न तथा राहत सामग्री पुर्‍याउनसमेत सहज नभएको उनको भनाइ छ। 

राहत वितरण पछि फर्किने क्रममा उनले पत्रकार ऋषि धमलासँग कुरा गर्दै भने, ‘पीडितलाई बन्दी बनाएर राखेजस्तो अवस्था देखियो। सहयोग गर्न चाहने व्यक्तिलाई कुनै रोकतोक नगरी स्वतन्त्र रूपमा राहत वितरण गर्न दिनुपर्छ।’

स्थानीय सरकार वा स्थानीय तहका व्यक्तिहरूले आफूहरूलाई सिधै राहत वितरण गर्न नदिएको उनको गुनासो छ।  तर, आफूले विभिन्न अवरोधका बाबजुद प्रभावित बस्तीमा पुगेर करिब ७०–८० जनालाई व्यक्तिगत रूपमा राहत सामग्री उपलब्ध गराएको उनले बताए। 

ठकुरीले बाढीपीडितका लागि खाद्यान्न मात्र नभई दैनिक जीवन सञ्चालनका लागि आवश्यक सामग्रीको अभाव रहेको बताए। उनका अनुसार ग्यास सिलिन्डर, चुलो, भाँडाकुँडा, प्लेट, कपडा, ब्ल्याङ्केटलगायत सामग्रीको आवश्यकता छ। ‘रासन पुगिरहेको छ। तर मानिसको दैनिक जीवन चलाउन बिहान उठेर खाना पकाउन ग्यास, सिलिन्डर, चुलो र भाँडाकुँडा चाहिन्छ। यस्ता सामग्रीको पनि अभाव छ,’ उनले भने। 

आफूले व्यक्तिगत खर्चमा ब्ल्याङ्केट, सिरानी, खाद्यान्न तथा लत्ताकपडालगायत सामग्री जुटाएर पीडितलाई वितरण गरिरहेको उनले बताए। आफूले सबै पीडितलाई सहयोग गर्न नसक्ने भए पनि आफ्नो क्षमताअनुसार निरन्तर प्रभावित क्षेत्रमा पुगिरहने उनको भनाइ छ। 

‘म पुरै राज्य वा सरकार होइन, सबैलाई पुग्ने गरी सहयोग गर्न सक्दिनँ। तर आफ्नो तर्फबाट सक्ने सहयोग गर्छु। जहाँ दुःख छ, जहाँ पीडित छन्, त्यहाँ पुगेर पीडित खोज्नुपर्छ,’ ठकुरीले भने।   

प्रकाशित: २० भाद्र २०८३ ११:०४ शनिबार