समाज

विषम परिस्थितिमा सबैले आ-आफ्नो क्षेत्रबाट पहल गर्दै निकास दिन जरुरी : अध्यक्ष ज्ञवाली

महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीले विषम परिस्थितिमा एकजुट भएर सबैले आ-आफ्नो क्षेत्रबाट पहल गर्दै निकास दिन आवश्यक रहेको बताएकी छन्।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै नेपाल अहिले विषम परिस्थितिबाट गुज्रिरहेको कुरा सबैलाई अवगत रहेको र २३ भदौदेखि सुरु भएको जेन-जी प्रदर्शनपछि राजनीतिक, सामाजिक, आर्थिकसहित सबै क्षेत्रमा अबको बाटो के हुने भन्ने अन्योल सृजना भएको पाइएको बताएको छ।

अध्यक्ष ज्ञवालीले जेन-जी आन्‍दोलनमा सुरक्षाकर्मीको गोली लागेर युवाहरूको निधनले मर्माहत बनाएको बताइन्। घाइते जेन-जी पुस्तासहित सुरक्षाकर्मीहरू सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन्।

उनले संविधानको संरक्षण गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक निकासका लागि खेलेको अभिभावकीय भूमिका प्रशंसनीय रहेको बताइन‍्। 'संविधानको संरक्षण गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक निकासका लागि खेल्नु भएको अभिभावकीय भूमिका प्रशंसनीय छ,' विज्ञप्तिमा भनिएको छ, 'देशमा बढिरहेको भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गराउन युवा पुस्ताले सुरु गरेको परिवर्तनको पहलमा महिला उद्यमी महासंघ नकारात्मक हुनै सक्दैन।'

यस्तै राजनीतिक निकासका लागि अन्तरिम सरकार गठनमा भइरहेको पहल र अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीमाथि जुटेको सहमतिले महिला उद्यमीहरू थप हौसिएको समेत उनको भनाइ छ।

नेपालकै इतिहासमा पहिलो महिला प्रधानमन्त्री नजिक पुगेकी कार्कीलाई कार्यकाल सफलताको शुभकामना दिएकी छन्। 

राजनीतिक दल र तीनका नेताबाट अन्तरिम सरकार गठन गर्ने विषयमा सहमति जनाउनु सकारात्मक भएको बताउँदै अध्यक्ष ज्ञवालीले आगामी दिनमा पनि सहकार्य गर्न दल र दलका नेतालाई महासंघ आग्रह गरेको जिकिर गरिन्।

अतः सरकारविहीन अवस्थामा रहेको मुलुकलाई जनताले लेखेको संविधानको दायराभित्र रहेर निकास दिँदै अन्योलपूर्ण अवस्थामा रहेको उद्योग र उद्योगीहरूको मनोबल उच्च बनाउन आजैको मितिदेखि पहल सुरु गर्न महासंघ सम्बन्धित पक्षसँग अपिल समेत गरेको अध्यक्ष ज्ञवालीद्वारा विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २७ भाद्र २०८२ १६:४७ शुक्रबार