समाज

'प्रसव पीडामा रहेकी आमाले अस्पतालको ढोकामै उपचारका लागि संघर्ष गर्नुपर्ने अवस्था अत्यन्तै लज्जास्पद'

घटनाको छानबिन गर्न माग

सप्तरीको राजविराजमा आर्थिक अभावका कारण सुत्केरी महिलाले स्वास्थ्य सेवा पाउन नसकेको घटनाप्रति जय नेपाल पार्टीनिकट नेपाल महिला संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संगठनकी सभापति चाहना (चम्पा) अधिकारीले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीको निगरानी र सहयोगबिना आमाले बच्चा जन्माउनुपर्ने अवस्था अत्यन्तै पीडादायी र लज्जास्पद भएको बताएकी छन्।

स्वास्थ्य सेवा नागरिकको संविधानप्रदत्त अधिकार भएको उल्लेख गर्दै संगठनले प्रसव पीडामा रहेकी महिलाले अस्पतालको ढोकामै उपचारका लागि संघर्ष गर्नुपर्ने अवस्था आउनु राज्य तथा सम्बन्धित पक्ष आफ्नो जिम्मेवारीबाट चुकेको प्रमाण भएको जनाएको छ।

'स्वास्थ्यकर्मीको निगरानी र सहयोग बिना नै एक आमाले बच्चालाई जन्म दिनुपरेको दर्दनाक घटना, हाम्रो समाज कहाँ पुगेछ, नैतिक जिम्मेवारी र संवेदनशीलता कति स्खलित भएछ भन्ने अवस्थाको ऐना हो,' विज्ञप्तिमा भनिएको छ, 'निश्चित पनि स्वास्थ्य क्षेत्र, सेवा र धर्म भन्दा आम्दानी र मुनाफामा सीमित भएको हो कि? भन्ने अवस्थाले सम्पूर्ण समाजलाई झस्काएको छ।'

संगठनले स्वास्थ्य क्षेत्र सेवा र मानवीय संवेदनाभन्दा आम्दानी तथा मुनाफामा केन्द्रित हुँदै गएको हो कि भन्ने प्रश्नसमेत उठाएको छ।

घटनाको तत्काल न्यायिक छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग संगठनले माग गरेको छ। साथै नागरिकका आधारभूत आवश्यकता तथा नैसर्गिक अधिकारको सुरक्षा गर्ने जिम्मेवारी पूरा गर्न सरकारलाई आग्रह गरेको छ।

'स्वास्थ्य सेवा नागरिकको संविधानप्रदत्त नैसर्गिक अधिकार हो। प्रसव पीडामा रहेकी एउटी आमाले अस्पतालको ढोकामै उपचारका लागि संघर्ष गर्नुपर्ने अवस्था अत्यन्तै दुःखद र लज्जास्पद छ। अतः राज्य लगायत सम्बन्धित पक्ष आफ्नो जिम्मेवारीबाट पूर्ण चुकेको यस घटनाबाट प्रष्ट भएको छ,' विज्ञप्तिमा भनिएको छ।

पीडित पक्षको सुस्वास्थ्य, सहयोग र हितका लागि जिम्मेवार भएर अग्रसर हुन पनि संगठनले सरकारको ध्यानाकर्षण गराएको छ।

महिलाको पीडामा मौन नबस्ने र अन्यायविरुद्ध आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै संगठनले महिलाको सम्मान, सुरक्षा र अधिकारका लागि आफू सदैव अग्रपंक्तिमा रहने जनाएको छ।

प्रकाशित: २६ भाद्र २०८३ ०८:२६ शुक्रबार