समाज

बुलेटिन जारी गर्दै विभागले भन्यो : पदयात्रामा ननिस्कनू, बिहीबारअघि नै कृषि कार्य सकाउनू

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नेब’ को प्रभावका कारण बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा तथा हिमपात हुन सक्नेछ।

महाशाखाले मंगलबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

बिहीबारदेखि भने बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नेब’ को समेत प्रभाव पर्ने देखिएको छ।

बुधबारदेखि नै देशका विभिन्न क्षेत्रमा मौसम बदली हुने पूर्वानुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बदली रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली हुने सम्भावना छ।

बुधबार राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मध्यमसम्मको वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

बिहीबारदेखि वर्षा र हिमपात बढ्ने

महाशाखाका अनुसार बिहीबारदेखि मौसम थप प्रभावित हुने सम्भावना छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा बदली बढ्नेछ।

कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ।

बिहीबार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना छ।

कर्णाली प्रदेशका केही स्थान र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्नेछ।

त्यस्तै, लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार र शनिबार भारी वर्षाको जोखिम

शुक्रबार देशभरजसो मौसम बदली रहने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि वर्षा र हिमपात हुन सक्नेछ।

शुक्रबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा वा हिमपात हुन सक्नेछ।

यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा वा हिमपातको समेत सम्भावना रहेको छ।

शनिबार पनि मौसममा उल्लेख्य सुधार नआउने देखिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा तथा हिमपात हुन सक्नेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ।

शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

बिहीबारअघि नै कृषि कार्य सक्न आग्रह

सम्भावित खराब मौसमलाई ध्यानमा राख्दै महाशाखाले किसान, पर्यटक तथा सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

विशेषगरी धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न सुझाव दिइएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले उक्त क्षेत्रमा यात्रा गर्ने योजना स्थगित गर्न तथा उच्च हिमाली क्षेत्रमा नजान महाशाखाले अनुरोध गरेको छ।

ती क्षेत्रमा पुगिसकेका पर्यटकलाई पनि मौसम प्रतिकूल रहने अवधिमा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

वर्षाका कारण पहिरोको जोखिम बढ्न सक्ने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने र चिसो बढ्न सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

प्रकाशित: १० कार्तिक २०८३ १८:१७ मंगलबार