बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सरकारलाई केवल प्रशासन चलाउने संरचनामा सीमित नराखी जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने सरकारका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रदेशसभाको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले प्रदेशसभाबाट पारित भइसकेको बजेटको प्रभावकारी कार्यान्वयन र नागरिकका आशा-अपेक्षा सम्बोधन गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताए।
सरकारको न्यूनतम साझा कार्यक्रम छिट्टै सार्वजनिक गरिने जानकारी दिँदै मुख्यमन्त्री थापामगरले उपलब्ध सीमित साधनस्रोतको समुचित उपयोगमार्फत स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, रोजगारी र सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउने बताए।
कुनै पनि विपन्न नागरिकले आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गरिने दाबी गर्दै उनले सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार, प्रविधिको प्रयोग र सिकाइ उपलब्धि सुधारमा विशेष जोड दिने बताए।
कृषि क्षेत्रको रूपान्तरणका लागि किसानलाई अनुदानमा मात्र सीमित नराखी उत्पादनदेखि बजारसम्म जोड्ने प्रभावकारी नीति लिइने उनको भनाइ छ।
युवाहरूको विदेश पलायन रोक्न प्रदेशभित्रै उद्योग, पर्यटन, सूचना प्रविधि, कृषि, साना उद्यम र खेलकुदका माध्यमबाट व्यापक रोजगारी सिर्जना गर्ने लक्ष्य सरकारले लिएको उनले उल्लेख गरे।
विकास निर्माणका आयोजनाहरूमा हुने ढिलासुस्ती अन्त्य गर्न आवश्यकताका आधारमा मात्र योजना छनोट गर्ने, समयमै ठेक्का प्रक्रिया अघि बढाउने र गुणस्तरीय निर्माणसहित तोकिएको समयमै सम्पन्न गर्ने प्रणालीको विकास गरिने मुख्यमन्त्री थापामगरले बताए।
सङ्घीय राजधानीसहित ठूलो जनसङ्ख्या र सम्भावना भए पनि बागमतीका दुर्गम तथा सीमान्तकृत समुदाय अझै आधारभूत सेवाबाट वञ्चित रहेकाले सन्तुलित विकासमा सरकार केन्द्रित हुने उनको भनाइ थियो।
मुख्यमन्त्री थापामगरले सरकार कुनै निश्चित पक्षको मात्र नभई सम्पूर्ण प्रदेशवासीको साझा सरकार भएको बताए। उनले प्रतिपक्षको रचनात्मक आलोचना र खबरदारीलाई सरकारले विरोधका रूपमा नभई सही बाटोमा हिँड्ने प्रेरणा र मार्गनिर्देशनका रूपमा ग्रहण गर्ने बताए।
प्रकाशित: ९ भाद्र २०८३ २१:१७ मंगलबार