बिहीबार रातिको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसमेत आउ–जाउ सकसपूर्ण भएको छ। तराईका जिल्लाबाट इलाम सदरमुकाम र पाँचथर–ताप्लेजुङ जोडिने मुख्य गौँडा (सडक) अवरुद्धझैँ भएपछि यातायात सम्बन्ध निकै कमजोर बनेको हो।
मेची क्षेत्रकै ‘लाइफ लाइन’ मानिने मेची राजमार्गको राजदुवाली वर्षाले जोखिमपूर्ण बनाएको छ। निर्माणाधीन केचना–कञ्चनजङ्घा मार्गका दुई खोलामा लगाइएको बेलीब्रिज बाढीले बगाएपछि सवारी साधन आउ–जाउ बन्द छ।
राजदुवालीको विकल्प भनिएको सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत जोगमाई खोलाको ह्युम पाइप पनि बगेपछि असार पहिलो साता नबित्दै इलाम सदरमुकाम सहज यातायात सम्बन्धबाट टाढा हुन थालेको छ।
मेची राजमार्ग जोखिमपूर्ण
लगातारको पहिरोले क्षतविक्षत मेची राजमार्गको इलाम नगरपालिका ९, राजदुवाली खण्डको करिब आधा किलोमिटर सडकमा रातिको पानीले हिलो जमेको छ। पहिरो झर्ने खतरा बढेको छ। शुक्रबार बिहानै माथिबाट झरेको ठुलो ढुङ्गाले एउटा सवारी साधनमा क्षति गरेको थियो।
अहिले यो मार्गमा इलाम बजारतर्फ आउने साना गाडी चलिरहेका छन्। विपरीत दिशाबाट चाहिँ जेनतेन ठुला सवारी साधन पनि चल्दछन्। इलामतर्फ आउने राजमार्ग उकालो पर्ने तर यही ठाउँमा ठुलो पहिरो भएका कारण उक्लिन नसक्ने अवस्था भएको छ।
गत असोज १८ र १९ तथा अघिल्लो वर्षको असोज १२ को बाढी–पहिरोका कारण राजदुवालीको सडक क्षतविक्षत बनेको थियो। अहिले मर्मत भइरहेको छ। ‘खोलाबाटै पर्खाल उठाएर सडक अड्याउनुपर्ने अवस्था छ,’ सडक डिभिजन प्रमुख पवन भट्टराईले भने, ‘बिहीबार राति माइखोलामा आएको बाढीले सडक मर्मतको सामानसमेत बगाइदिएको छ।’
बाढीले तार जाली, पाइप, केही मेसिन र अन्य सामग्री बगाइदिएको उनले जनाए। ‘राजदुवालाीबाट साना गाडी जसोतसो चलेका छन् तर वर्षाले मर्मतको काममा पूरै असर गरेको छ,’ प्रमुख भट्टराईले भने, ‘मौसम हेरेर मर्मतको काम निरन्तर भइरहेको छ।’
मेची राजमार्गको यो ठाउँका ४ खण्ड एउटै पहिरोले निरन्तर बगिरहेको छ। भिरालो पाखामा गोलाई घुमाएर बनाइएको सडकमा माथिबाट ठुलो पहिरो झर्दा ४ खण्ड एकै तवरले क्षतिग्रस्त भएका छन्।
मेची राजमार्गकै इलाम नगरपालिका १, पुवाखोलाका २ स्थानमा बिहीबार रातिको वर्षाले पहिरो झर्दा केही घण्टा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भयो। तर, मर्मतपछि खुलेको यो ठाउँबाट निकै खतरापूर्ण तवरले एकतर्फी रूपमा सवारी साधन चल्दछन्।
अझ ठुलो पानी परेमा यहाँ पनि अवरुद्ध हुने सम्भावना रहेको स्थानीय तथा इलाम नगरपालिका ४ का वडाध्यक्ष नुतनदेव दुलालले बताए। राजमार्गको कोल्बुङमा पनि पटक–पटक पहिरो झरेर आउ–जाउ अवरुद्ध हुने गरेको छ।
राजदुवालीमा पानी पर्ने सिजन सुुरु हुुनुअगावै पुुरानै ठेक्काको काम थालिएको थियो। त्यसअन्तर्गत सडक खण्डमा तार जाली र पर्खाल निर्माण हुँदै थियो। सडक डिभिजनले यहाँका भित्रभित्रै पानी बग्ने समस्या समाधान गर्न ‘ड्रिलिङ’ गरेर पाइप राखी पानी निकाल्ने प्रयत्न गरेको थियो।
जति मर्मत गरे पनि सुधार नभएको भन्दै स्थानीय असन्तुष्ट छन्। चारैतर्फका सडक भरपर्दा नभएका कारण इलाम टापुमा परिणत हुने भन्दै इलामबासी चिन्तित छन्। ‘अब इलामलाई दुर्गम जिल्ला घोषणा गर्नुपर्छ,’ नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका स्थानीय धीरेन चेम्जोङले भने, ‘इलामजस्तो पर्यटकीय जिल्लाको सडक मर्मतमा किन पर्याप्त काम हुन सकिरहेको छैन ? कसले दिन्छ जबाफ ?’
फास्ट ट्र्याक पूर्ण अवरुद्ध
झापाको केचनादेखि ताप्लेजुङको कञ्चनजङ्घा बेसक्याम्प पुग्ने केचना–कञ्चनजङ्घा मार्ग (इलाम–झापा फास्ट ट्र्याक) पनि बिहीबार रातिको पानीले पूर्ण रूपमा बन्द भएको छ।
यो खण्डको माइखोला (बेलासे)को पक्की पुल गत असोज १८ रातिको वर्षाले भास्सिएपछि अहिले भास्सिएको भाग हटाएर पुलको आधा भागका बेली ब्रिज जडान गरिँदैछ। तर, बेली ब्रिज बनाउन तयार गर्दागर्दै बाढीले बेस नै बगाएको स्थानीयले जनाएका छन्।
स्थानीय सविन लोक्तामका अनुसार रातिको वर्षाले यहाँ निर्माणाधीन बेली ब्रिजको बेससमेत बगाएको छ। ‘यहाँ पटक–पटक बनाइएको डाइभर्सन बाढीले बगाइसकेको छ,’ उनले भने, ‘सबैभन्दा ठुलो समस्या चाहिँ खोला तर्न नसक्दा यहाँका बालबालिका स्कुल जान सकेका छैनन्।’
उनका अनुसार यहाँका १०–१२ बालबालिका पारिपट्टि रहेको जनता माविमा पढ्न जाने गरेका छन्। तर, खोलो तर्ने अवस्था नहुँदा र स्कुल गएका बेला ठुलो पानी परे घर फर्किने सम्भावना नहुने भएकाले उनीहरू घरमै बस्न बाध्य छन्।
यही सडकको पुवाखोलाको नयाँ बेली ब्रिज असोज १८ को बाढीले बगाएको थियो। त्यसपछि काठको सानो फड्के बनाएर हिउँदभर साना सवारी र मान्छे हिँडडुल गर्ने गरिएको थियो। नजिकै ठुला गाडीका लागि डाइभर्सनसमेत बनाइएको थियो। तर, बिहीबार रातिको बाढीले यहाँको डाइभर्सनसमेत बगाएपछि फास्ट ट्र्याकमा सवारी आउ–जाउ पूरै बन्द भएको डिभिजन प्रमुख भट्टराईले जानकारी दिए। पुवाखोलामा पुनः अर्काे बेली ब्रिजसमेत जडान गरिँदैछ।
राजदुवालीको वैकल्पिक सडक पनि बन्द
बारम्बार पहिरो झरिरहने र मर्मत भइरहने राजदुवालीको मेची राजमार्गको विकल्प भनिएको सिमलगोलाई–जोगमाई–तिल्केनी सडकमा पनि अहिले गाडी चल्ने अवस्था छैन। यहाँ लगाएको अर्को नयाँ बेली ब्रिज पनि गत असोज १८ को बाढीले बगाएको थियो। त्यसपछि बनाइएको डाइभर्सनसमेत बाढीले बगाएको छ।
अहिले खोलामा बाढी आएका कारण मान्छे हिँड्ने र सवारी साधन चल्ने अवस्था नरहेको स्थानीय तथा इलाम नगरपालिका १० का वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिए। जोगमाई खोलामा पनि नयाँ बेली ब्रिज बन्नेक्रममा छ। तराईबाट इलाम आउन अरू कुनै भरपर्दो सडक छैन। यी मुख्य सडकसमेत बर्खा सुरु हुँदै बन्द हुँदा अबका केही महिना इलाम, पाँचथर र ताप्लेजुङवासीले सास्ती खेप्नुपर्ने सम्भावना देखिएको छ।
असोज १८ र १९ को बाढी–पहिरोले जिल्लामा १२ अर्ब रुपैयाँको भौतिक संरचना क्षति गर्दा सबैभन्दा बढी ७ अर्बका सडक र पुल नै थिए। ३९ जनाको मृत्यु हुने गरी भएको घटनापछि इलामलाई ३ महिनाका लागि ‘विपद् सङ्कटग्रस्त’ जिल्ला घोषणासमेत गरियो। तर, सरकारले समयमै बजेट व्यवस्था नगर्दा मर्मतमा ढिलाइ भएर बर्खा लागेपछि काम सुरु भएको छ। भारतबाट बेली ब्रिज ल्याउने क्रममा प्रक्रियागत ढिलाइका कारण २ सातासम्म नाकामै रोकिएका सामग्री करिब साताअघि ल्याइपुर्याइएको थियो।
‘अहिले एउटा बेली ब्रिजका लागि सामान आएकाले बेलासेको माइखोलामा सबैभन्दा पहिला जडान हुने क्रमममा छ,’ डिभिजन प्रमुख भट्टराई भन्छन्, ‘समयमै बजेट र सामग्री व्यवस्था गरिएको भए समयमै काम सकिने थियो।’
गत पुसमा सङ्घीय सरकारले बाढी–पहिरोले गरेको क्षतिमा मर्मत गर्न २ अर्ब १९ करोड रुपैयाँको स्रोत सुनिश्चित (सहमति) गरेको थियो। अर्थ मन्त्रालयले मेची राजमार्गका लागि डेढ अर्ब, मेची राजमार्गकै राजदुवाली पुलका लागि २० करोड, केचना–कञ्चनजङ्घा सडकका लागि १४ करोड, यही सडकअन्तर्गत माई खोलाको बेलासे पुलका लागि २५ करोड, पुवाखोला पुलका लागि ५ करोड र गोदकको सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत जोगमाई खोला पुलका लागि ५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । यसमध्ये चालु आर्थिक वर्ष ५४ करोड रुपैयाँको काम हुनेछ अनुमान गरिएको सडक डिभिजनको भनाइ छ।
असोज १८ र १९ को बाढी–पहिरोले इलाममा ३९ जनाको मृत्युसहित १ बेपत्ता, २६ घाइते, ४ सय ४९ परिवार विस्थापित, ८ सय २८ घरमा आंशिक क्षति र अर्बौँको भौतिक संरचना ध्वस्त भएको थियो। सङ्घीय सरकारले गत भदौ २३ मा इलामलाई ३ महिनाका लागि ‘विपद् सङ्कटग्रस्त’ घोषणा गरेको थियो। असोज २५ मा मन्त्री कुलमान घिसिङसमेत इलाम आएर पुनर्निर्माणको आश्वासन दिएका थिए।
प्रकाशित: ५ असार २०८३ १८:४२ शुक्रबार



