इजरायल र अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेपछि मुलुकको राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै सरकारले इरानी नागरिकलाई ‘अनअराइभल’ भिसा बन्द गरेको छ।
पश्चिम एसियाली मुलुकहरूमा बढेको तनावसँगै नेपालमा शरणर्थी भित्रन सक्ने खतराका कारण सरकारले अनअराइभल भिसा बन्द गरेको छ। इरानी नागरिक नेपालका लागि सुरक्षा चुनौती (थ्रेट) हुन् कि होइनन् भन्ने विषयमा नेपालले औपाचरिक रूपमा केही जनाएको छैन। अध्यागमन विभागले यसलाई ‘सुरक्षा थ्रेट’ भन्न रुचाएको छैन। विभागले द्वन्द्वग्रस्त मुलुकबाट नागरिकहरू सुरक्षित मुलुकमा आउने र लामो समय बस्ने भएकाले सावधानी अपनाएको जनाएको छ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले राष्ट्रिय सुरक्षालाई ध्यानमा दिएर भिसा बन्द गरेको बताए। विभागका अनुसार अब इरानी सर्वसाधारणले नेपाल भ्रमणमा आउनुअघि इरानस्थित नेपाली दूतावास वा नियोगबाटै पूर्वस्वीकृति (भिसा) लिनुपर्नेछ। ‘राष्ट्रिय सुरक्षा र हितलाई ध्यानमा राखेर भिसा बन्द गरिएको हो। विगतका केही कमजोरीबाट पाठ सिक्दै समय छँदै निर्णय लिइएको हो। त्यसमा नेपालको राष्ट्रिय हितबाहेक अन्य कुनै सन्दर्भ जोडिँदैन र जोड्न आवश्यक पनि छैन,’ तिवारीले भने।
विभागका अनुसार सरकारी र कूटनीतिक राहदानीवाहक इरानी नागरिकका हकमा भने अहिलेको नियम लागु हुनेछैन। ‘सर्वसाधारण र अन्य राहदानीबाहकका लागि नेपाल प्रवेश बिन्दुमा दिइने भिसा बन्द गरिएको छ,’ महानिर्देशक तिवारीले भने। उनका अनुसार द्वन्द्व सुरु भएदेखि नै इरानी नागरिकलाई नेपाल प्रवेशमा कडाइ भइरहेको थियो। नेपालले ३० दिनको भिसा घटाएर १५ दिनमा झारेको थियो तर अहिले १५ दिनको पनि हटाएर बन्द गरेको हो।
नेपालले खासगरी भारतलगायत छिमेकी मुलुकमा रहेका इरानीहरू नेपाल प्रवेश गर्न नसकुन् भन्ने उद्देश्य राखेको छ। विगतमा म्यनमारमा आन्तरिक द्वन्द हुँदा ठुलो संख्यामा रोहिंग्याहरू नेपाल आएका थिए। उनीहरू अहिले पनि शरणार्थीका रूपमा नेपालमै छन्। साथै अन्य मुलुकबाट पनि नागरिकहरू शरणार्थीका रूपमा नेपाल आउने गरेका छन्। त्यसले गर्दा इजरायल र अमेरिकाले इरानमाथि आक्रमण सुरु गर्दा नेपालले सावधानी अपनाएको छ।
बेलाबखत इरानी नागरिकहरू स्थलमार्गबाट पनि नेपाल आएका थिए। उनीहरू नेपाल आउने र बिनाभिसा लामो समय नेपाल रहने गरेका कारण पनि बेलैमा सावधानी अपनाइएको विभागका एक अधिकारीको दाबी छ।
पश्चिम एसियाली मुलुकहरूमा द्वन्द्व सुरु भएपछि नेपालमा धेरै इरानी आएका छैनन्। विभागले जनाएअनुसार इरानबिचको युद्ध फेब्रुअरी २८ (फागुन १६ गते) बाट सुरु भएको थियो। त्यसयता २०८२ फागुन १७ गतेदेखि ३० गतेसम्म १९ जना इरानी नेपाल आएका छन्। उनीहरूलाई १५ दिनको भिसा दिइएको छ।
अध्यागमन विभागले गरेको यो निर्णयसँगै अनअराइभल भिसा नदिने मुलुकको संख्या १३ पुगेको छ। सुरक्षा संवेदनशीलता र अध्यागमन नीतिका कारण यसअघि नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकलाई यस्तो भिसा बन्द गरिएको छ।
यति मात्र होइन, विभागले शरणार्थीको हैसियत प्राप्त गरी ट्राभल डकुमेन्ट बोकेका व्यक्तिहरूका लागि पनि नेपाल प्रवेशमा कडाइ गरेको छ।
त्यस्ता व्यक्तिहरूले पनि नेपाल आउनुअघि अनिवार्य रूपमा विदेशस्थित नेपाली दूतावासबाटै भिसा प्रक्रिया पूरा गर्नुपर्ने भएको छ। विभागले नेपाल शरणार्थीको हब हुनबाट जोगाउन पनि कडाइ गरेको जनाएको छ। अहिले पनि नौ देशका नागरिकले शरण लिइरहेका छन्। तिब्बती र भुटानीलाई पनि जोड्ने हो भने ११ देशका नागरिकले शरण लिइरहेका छन्।
नेपालमा इरानीहरूको ट्र्याक रेकर्ड राम्रो नभएका कारण पनि कडाइ गरिएको हो। विभागका अनुसार नेपालमा इरानी नागरिकहरू जाली राहदानी, ओभरस्टेजस्ता कारणले ट्र्याक रेकर्ड खराब रहेको हो।
सन् २०२४ मा नेपालले डिपोर्ट गरेका चार सय ९६ विदेशीमध्ये १८ जना इरानी थिए। उक्त वर्ष सात जना इरानीलाई ओभरस्टे गरेका कारण डिपोर्ट गरिएको थियो। बाँकी ११ जना इरानीलाई जाली राहदानी तथा भिसा प्रयोग गरेका कारण नेपालले डिपोर्ट गरेको थियो। यही तथ्यलाई ध्यान दिएर विभागले उनीहरूलाई दिइएको अनअराइभल भिसा बन्द गरेको हो।
प्रकाशित: ३ चैत्र २०८२ ०६:४३ मंगलबार