राष्ट्रिय मानव अधिकार आयोगले नख्खु कारागारबाट कैदीबन्दीहरू भागेको घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा र हरि ढकालमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको छ।
आयोगका अनुसार घटनाक्रममा उनीहरूको भूमिका र संलग्नताको विषयमा थप छानबिन आवश्यक देखिएको छ। प्रतिवेदनमा कारागारका जेलर सत्यराज जोशी र रास्वपा सभापति रवि लामिछानेले दिएको बयान एक-अर्कासँग मेल नखाने उल्लेख गरिएको छ।
जेलर जोशीले आफू विभिन्न दबाब र त्रासका कारण निर्णय गर्न बाध्य भएको दाबी गरेका छन् भने लामिछानेले भने कारागार प्रशासनकै सुझावमा बाहिरिएको बताएका छन्। आयोगले यी फरक भनाइले घटनाको वास्तविक पक्ष थप अनुसन्धान गर्नुपर्ने अवस्था देखाएको जनाएको छ।
प्रतिवेदनअनुसार उक्त घटनाका क्रममा ठूलो सङ्ख्यामा कैदीबन्दी कारागारबाट बाहिरिएका थिए भने केही व्यक्तिको मृत्यु समेत भएको उल्लेख गरिएको छ। आयोगले यस घटनाले नागरिक सुरक्षा र कानुनी व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ।
प्रकाशित: १३ जेष्ठ २०८३ १७:०१ बुधबार