समाज

इनिसा हत्या प्रकरणमा अनुसन्धान पूरा, मुद्दा अब अदालततर्फ अघि बढ्ने

सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको मृत्यु सम्बन्धी घटनामा प्रहरीले आफ्नो अनुसन्धान प्रक्रिया सम्पन्न गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ। अब उक्त प्रकरण कानुनी प्रक्रियामार्फत अदालतमा प्रवेश गर्ने चरणमा पुगेको छ।  

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनासँग सम्बन्धित विभिन्न प्रमाण, आरोपितहरूको बयान तथा प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान प्रतिवेदन तयार गरिएको हो। केही प्राविधिक रिपोर्टहरू प्राप्त भइसकेका छन् भने बाँकी प्रतिवेदनहरू पनि आवश्यकतानुसार अदालतमा प्रस्तुत गरिने जनाइएको छ।  

गत फागुन २३ गते बिहान ट्युसनका लागि घरबाट निस्किएकी इनिसा वीरेन्द्रनगरस्थित एक सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा भेटिएकी थिइन्। उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।  

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा केही नाबालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। परिवारले भने यो घटनालाई सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै निष्पक्ष अनुसन्धान र न्यायको माग गरिरहेका छन्।

हालसम्म पनि मृतकको शव अस्पतालमै राखिएको छ। परिवारले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएको छ। उनीहरूले घटनामा संलग्नलाई कडा कारबाही र निष्पक्ष छानबिनको माग दोहोर्‍याएका छन्।

अब यो प्रकरणको अन्तिम टुंगो अदालतको प्रक्रियाबाट लाग्नेछ।

प्रकाशित: ११ चैत्र २०८२ १४:२२ बुधबार