सप्तकोशीमा यात्रुवाहक पानीबोट सञ्चालनमा तत्काल रोक लगाउन पानीबोट दुर्घटनासम्बन्धी छानबिन समितिले सरकारलाई सिफारिस गरेको छ। शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाइएको प्रतिवेदनमा समितिले यस्तो सिफारिस गरेको हो।
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०८३ कात्तिक १० गते गरेको निर्णयअनुसार प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको थियो।
धनकुटा, भोजपुर र उदयपुर जिल्लाको संगमस्थल त्रिवेणीमा बराह त्रिवेणी जलयातायात प्रालिको नाममा सञ्चालित यात्रुवाहक ओबीएम पानीबोट कात्तिक ८ गते दुर्घटनामा परेको थियो। घटनाको वास्तविकता पत्ता लगाउन सरकारले छानबिन समिति गठन गरेको थियो।
समितिले दुर्घटनास्थलको स्थलगत अध्ययन, सरोकारवालासँग छलफल तथा प्राप्त कागजात र प्रमाणहरूको अध्ययन एवं विश्लेषण गरी प्रतिवेदन तयार पारेको जनाएको छ।
समितिले स्थलगत अध्ययन, पीडित, उद्धारकर्ता, व्यवसायी तथा सुरक्षा निकायसँगको छलफलपछि तयार पारेको प्रतिवेदनमा सप्तकोशीमा सञ्चालित जलयातायात सेवामा गम्भीर लापरबाही र नियमनको अभाव रहेको औँल्याएको छ।
उक्त दुर्घटनामा चालकसहित १५ जना सवार पानीबोटमा तीन जनाको मृत्यु भएको थियो भने तीन जना बेपत्ता भएका थिए। दुर्घटनामा परेका अन्य आठ जना यात्रुको सकुशल उद्धार गरी घर फर्काइएको थियो।
प्रकाशित: ११ मंसिर २०८३ १८:३८ शुक्रबार