समाज

प्रभातफेरिसहित ताप्लेजुङमा मनाइयो बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस

बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार ताप्लेजुङमा प्रभातफेरि तथा कोणसभा सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको समुदाय साझेदारी कार्यक्रम तथा लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कुलको सहभागितामा प्रभातफेरि सम्पन्न भएको हो।

नगर परिक्रमापछि वीरेन्द्रचौकमा आयोजित कोणसभामा बोल्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक जटाशंकर यादवले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरूको संरक्षण र बाल अधिकार अनुरुपको व्यवहार जरुरी रहेको बताए। १४ वर्ष उमेर पूरा नभइ सामान्य श्रममा समेत लगाउन नपाइने तथा १८ वर्ष उमेर पूरा नभइ गम्भीर प्रकृतिका श्रमका कार्यमा बालबालिकाको प्रयोग गर्न नहुने मान्यता रही आएको छ।

कार्यक्रममा बोल्दै लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीले बालबालिकाले बालश्रमविरुद्धका अभियानमा आफ्ना अभिभावकहरूलाई समुदायमा पैरवी गर्न सक्नुपर्ने बताए। कार्यक्रममा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्षद्वय खगेन्द्र अधिकारी र राजेन्द्र श्रेष्ठको समेतको उपस्थिति रहेको थियो। बाल मजदुर वा बालश्रमको विरुद्ध विश्व दिवस जुन १२ को दिन हरेक वर्ष आयोजना हुने गरेको छ। बालश्रमविरुद्ध विश्वव्यापी आन्दोलनलाई बढुवा दिने उद्देश्य अनुसार यो दिवस मनाइने गरिएको छ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले सन् २००२ देखि बालश्रमविरुद्ध विश्वव्यापी रूपमा ध्यान केन्द्रित गर्दै र यसलाई पूर्ण रूपमा अन्त्य गर्न आवश्यक पर्ने कार्य र प्रयासमा ध्यान केन्द्रित गर्ने गरेको छ। प्रत्येक वर्ष १२ जुनको दिन विश्व बालश्रमविरुद्ध दिवसको भेलाले सरकार, रोजगारदाता र मजदुर सङ्गठनहरू, नागरिक समाजका साथै विश्वका लाखौँ मानिसहरूलाई बाल मजदुरहरूको दुर्दशा ऊजागर गर्दै उनीहरूलाई कसरी मद्दत गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित रहँदै १२ जुनलाई विश्व बालश्रमविरुद्धको दिवस मनाउन थालिएको हो।

प्रकाशित: २९ जेष्ठ २०८३ १०:५१ शुक्रबार