महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमशिलता क्षेत्रको विकास गर्न स्थानीय सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने बताएकी छिन् । बिहीबार अन्तर्राष्ट्रिय श्रम सङ्गठन(आइएलओ) को आर्थिक सहयोगमा जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधिसँग भएको अन्तर्क्रियामा उनले महिला सशक्तीकरणका विषय जोड्ने बताइन ।
आइएलओको सहयोगमा महांसघले उद्यमशिलता विकासबाटै लैङ्गिक हिंसा र दुर्व्यवहारमा परेका महिलाहरुको आर्थिक र समाजिक सशक्तीकरणमा सहयोग पुर्याउने जनप्रतिनिधिसँग छलफल गरेको अध्यक्ष ज्ञवालीले बताइन ।
‘सशक्त महिला समृद्ध नेपाल’ मूल नारासहित महिला उद्यमीहरुको आर्थिक तथा समाजिक विकास गर्न स्थानीय सरकारले ल्याएको योजनामा आइएलओ र महिला उद्यमी महासंघ नेपालले साथ दिने ज्ञवालीले बताइन ।
महिला उद्यमशीलता क्षेत्रको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी आयातलाई प्रतिस्थापन साथै निर्यातलाई अभिवृद्धि गर्न सकिने उनको विश्वास छ । यसले समग्र देशको अर्थतन्त्रलाई मजबुत बनाउने विश्वासका साथ महासंघले काम गरिरहेको बताइन ।
‘नेपालमा महिला उद्यमशीलता क्षेत्र अपेक्षित रुपमा अगाडि बढ्न सकेको छैन । घरेलू तथा साना उद्यम सञ्चालन गर्ने महिला उद्यमी पनि औपचारिक अर्थ व्यस्थामा समाहित हुने अवस्था नरहेको ज्ञवालीले बताइन । उनले भनिन्,‘यसका पछाडि विभिन्न कारण हुनसक्छ । जसमा उद्यम दर्ता गर्दा उद्यमीलाई प्राप्तहुने कानूनी मान्यताबारे प्रर्याप्त जानकारी नहुनु, दर्ता पक्रिया झण्झटिलो हुनु र लेखा प्रष्ट रुपमा राख्ने दक्षतान हुनु मुख्य हुन् ।’
महिलालाई उद्यमी बनाउन जनकपुरधाम उपमहानगरपालिका प्रयासरत रहेको मेयर मनोज साहले बताए । जसरी राज्यले विद्युतमा लगानी गरेर आम्दनी गरिरहेको छ त्यसरी नै महिलाको उद्यमशीलतामा पनि लगानी गर्नुपर्ने मेयर साहले बताए ।
अन्तर्क्रियामा जनकपुरधाम उपमहानगरपालिका वडाध्यक्षहरु मिथिलेश कुमार कर्ण, राजनरायण साह, चन्देश्वर साहलगायतको उपस्तिथि थियो ।
प्रकाशित: ३ पुस २०८२ १९:०३ बिहीबार