बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै पहिलो पटक विद्युतीय माध्यमबाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ।
सङ्घीय सरकारले अघि सारेको शासकीय सुधारका कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सरकार मातहत खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय डिजिटल प्रविधिलाई कार्यान्वयनमा ल्याउने यो कार्यालय पहिलो बनेको हो।
कार्यालयको प्रशासनिक कार्यसम्पादनमा गुणात्मक सुधार, कागजी प्रक्रियामा कमी ल्याउने, अभिलेख व्यवस्थापन थप सुरक्षित र व्यवस्थित हुने, कार्य सम्पादनको अनुगमन तथा जवाफदेहिता अभिवृद्धि हुने तथा सेवा प्रवाहलाई थप छिटो, सरल र प्रभावकारी बनाउन सहयोग पुगेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले बताए।
'तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी बिदा र काज स्वीकृत,अभिलेख व्यवस्थापनलगायतका कार्यहरु डिजिटल प्रविधिबाट मार्फत थालिएको छ,'उनले भने, 'यो प्रणाली लागू गरेपछि कार्यालयको कामकाजलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी हुने विश्वास लिएका छौ ।'
एकिकृत कार्यालय ब्यवस्थापन प्रणाली सुरु गर्नुअघि यही साउन दोस्रो हप्ता गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले कर्मचारीलाई प्रशिक्षण दिएको थियो। मन्त्रालयले अबको दुई महिनाभित्र प्रदेशका ११ वटै कार्यालयमा एकीकृत कार्यालय ब्यवस्थापन प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख उपसचिव लक्ष्मीभद्र वाग्लेले बताए।
प्रकाशित: २९ श्रावण २०८३ ०७:२२ शुक्रबार