समाज

विचौलियाको प्रभाव नदेखिने गरी काम गर्न निर्देशन

मधेस प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलिया आइतबार हाजिर भएका छन् । कार्यालयमा हाजिर हुँदै डीआईजी थपलियाले प्रदेश प्रहरी कार्यालय मातहत कार्यालयका कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै नागरिकको सेवामा कुनै पनि किसिमको बिचौलियाहरुको प्रभाव पर्न नदिने गरी काम कारवाही गर्नुपर्ने बताए।

भर्चुअल माध्यमबाट डीआईजी थपलियाले वर्तमान शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै वर्तमान राजनीतिक अवस्थामा पर्न सक्ने प्रभावको विश्लेषण गरी प्रभावकारी सुरक्षा योजना बनाउन निर्देशन दिए । नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै प्रहरीको व्यवहार र काम हुनुपर्ने उनले बताए ।  

थपलियाले विभिन्न धार्मिक समूहबीच हुन सक्ने विवादको सही तरिकाले समाधान गर्ने, सीमा क्षेत्रबाट हुने अवैध निकासी पैठारी नियन्त्रण गर्ने, प्रहरीको आन्तरिक शुद्धीकरण गर्नुपर्ने लगायतका विषयलाई थप प्रभावकारी कार्यान्वयन गर्न भूमिका खेल्नुपर्ने बताए ।  

मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी उमाशंकर चतुर्वेदी एआईजीमा बढुवा भएपछि रिक्त ठाउँमा डीआईजी थपलिया पुगेका हुन् ।  

 

प्रकाशित: २६ आश्विन २०८२ २१:३७ आइतबार