समाज

काठमाडौंको तार १५ दिनभित्र व्यवस्थापन गर्न निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न शहरी क्षेत्रमा अव्यवस्थित रूपमा रहेका दूरसञ्चार तथा इन्टरनेट सेवाका तार व्यवस्थापन गर्न १५ दिने अभियान सञ्चालन गर्ने भएको छ।

प्राधिकरणले जेठ २८ गते जारी गरेको अत्यावश्यक सूचनाअनुसार सडक छेउका पोलहरूमा गुजुल्टो परेको, चुडिएको तथा लत्रिएको अवस्थामा रहेका तारका कारण शहरी सौन्दर्यमा असर पर्नुका साथै सार्वजनिक सुरक्षा र आवागमनमा समेत जोखिम उत्पन्न भएको भन्दै व्यवस्थापन अभियान अघि बढाइएको हो।

नेपाल विद्युत प्राधिकरणको विद्यमान संरचना उपलब्ध भएका क्षेत्रमा तय गरिएको रुट प्लानअनुसार प्रयोगमा नरहेका तथा अव्यवस्थित तार हटाउने र व्यवस्थापन गर्ने कार्य सञ्चालन गरिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले पहिलो चरणमा निम्न क्षेत्रलाई प्राथमिकतामा राखेको छ: 

१. त्रिपुरेश्वर–कालिमाटी–कलंकी

२. जडीबुटी–पेप्सीकोला

३. त्रिपुरेश्वर–लाजिम्पाट

४. सामाखुसी टाउन प्लानिङ (गोंगबु)

५. कीर्तिपुर क्षेत्र

६. पुरानो बानेश्वर–गौशाला–चाबहिल

सूचनाअनुसार उल्लेखित क्षेत्रमा १५ दिनसम्म चरणबद्ध रूपमा तार व्यवस्थापन तथा अव्यवस्थित तार हटाउने काम गरिनेछ।

यस अवधिमा सम्बन्धित सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई दैनिक रूपमा सञ्चालन हुने व्यवस्थापन कार्यक्रममा सहभागी हुन निर्देशन दिइएको छ। साथै, सेवा प्रदायकहरूले आफ्नो स्वामित्वमा रहेका तारमा संस्थाको स्पष्ट पहिचान खुल्ने गरी ट्याग राख्नुपर्ने व्यवस्था गरिएको छ।

प्राधिकरणले सेवा प्रदायकका प्रतिनिधि उपस्थित नभएको वा आवश्यक पहिचान खुल्ने ट्याग नराखिएका कारण सम्बन्धित तार पहिचान हुन नसकी काट्नुपर्ने, हटाउनुपर्ने वा अन्य क्षति पुगेमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित सेवा प्रदायककै हुने स्पष्ट गरेको छ।

यससँगै सेवा प्रदायकलाई नेटवर्क विस्तार, मर्मतसम्भार तथा पुनः व्यवस्थापन गर्दा प्राधिकरणद्वारा जारी ‘Directives for Laying and Maintaining Optical Fiber Network’ अनुसार मात्रै काम गर्न पनि आग्रह गरिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले यस अभियानले शहरी क्षेत्रलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित: २९ जेष्ठ २०८३ १९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App