सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरूमा व्यापार व्यवसाय गर्न त्रियुगा नगरपालिकाले आग्रह गरेको छ।
यसका लागि नगरपालिकाले २२५ फुटपाथ व्यापारी तथा व्यवसायीलाई सचेतना प्रशिक्षण समेत सञ्चालन गरेको प्रमुख बसन्त बस्नेतले बताए।
त्रियुगा नगरपालिका नगर प्रहरी प्रमुख सोबित बोटले गाईघाट बजारको मुख्य सडकमा व्यापार व्यवसाय सञ्चालन गर्दा आवागमनमा अवरोध भएको बताए। उनले भने,“बजार क्षेत्रका सडकपेटीहरूमा लामो समयदेखि फुटपाथ व्यापारीहरुले पेटी कब्जा गर्ने र अवरोध गरी व्यापार–व्यवसाय गर्दै आएकाले पटकपटक यसो नगर्न भन्दा पनि अटेरी गरेपछि बल प्रयोग गर्नभन्दा पहिला राम्ररी सम्झाई–बुझाई गर्न र उनीहरूलाई सचेतना जगाउन प्रशिक्षण कार्यक्रम नै सञ्चालन गरेका हौं।”
नगर प्रमुख फुटपाथ व्यापार–व्यवसाय गर्न वैकल्पिक रूपमा नगरपालिकाले बजारका सडक छेउछाउकै अन्य जग्गाहरू उपलब्ध गराउने र केही व्यापारीका लागि उपलब्ध गराउँदै आएको नगर प्रमुख बस्नेत बताए।
बजारको मुख्य सडकपटीमा कपडा, खुद्रा व्यापारदेखि मकै पोलेर बिक्री गर्ने माछा, फलफूलहरू बिक्री गर्ने, जुत्ताचप्पलसहितका व्यापारहरू सडकपेटी कब्जा गरेर पसल सञ्चालन गर्ने गरेको कारण सडकपेटीमा हिँड्नेहरूले सास्ती भोग्नु परेको नगरपालिकाले जनाएको छ।
प्रकाशित: ३० चैत्र २०८२ १२:११ सोमबार