गोरखापत्र संस्थानले ‘गोरखापत्र एकेडेमी’ सञ्चालन गर्ने भएको छ। संस्थानले पत्रकारिता क्षेत्रको गुणस्तर तथा व्यावसायिकता अभिवृद्धि गर्न गोरखापत्र एकेडेमी स्थापनाको निर्णय गरेको छ।
पत्रकारिता क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति विकास, समसामयिक विषयमा अध्ययन अनुसन्धान, तालिम, पुस्तक, जर्नल प्रकाशनलगायतका कार्य गर्न संस्थानले एकेडेमी सञ्चालनको निर्णय लिएको संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले बताए। महाप्रबन्धक ऐरीको अध्यक्षतामा बसेको संस्थान सञ्चालक समितिको बैठकले नै यस्तो निर्णय लिएको हो।
गोरखापत्र संस्थान ऐन, २०१९ को दफा १७ (६) ले संस्थानको काम कर्तव्य र अधिकार तोकेको छ। महाप्रबन्धक ऐरीको अवधारणाअनुसार नै सोही दफाले तोकेको सीमाभित्र रहेर एकेडेमी सञ्चालन गर्ने गरी निर्णय भएको संस्थानले जनाएको छ।
बैठकले गोरखापत्र एकेडेमी सञ्चालन सम्बन्धी कार्यविधि, २०८२ समेत स्वीकृत गरेको छ। कार्यविधि अनुसार एकेडेमीले संस्थानका प्रकाशनको गुणस्तर सुधार तथा जनशक्तिको व्यावसायिक क्षमता विकासका कार्य गर्नेछ।
यस्तै पत्रकारिताको व्यावसायिक विकासका लागि मिडिया तथा डिजिटल साक्षरता अभिवृद्धि गर्ने, गोरखापत्र संस्थानको आम्दानी अभिवृद्धि गर्न दिगो स्रोत पहिचान गर्ने, सरकारको नीति तथा कार्यक्रम र संवैधानिक निकायका काम कर्तव्य पूरा गर्ने सिलसिलामा उक्त निकायको सहमति र आर्थिक सहभागितामा तालिम सञ्चालन गर्ने लगायतका कार्य गर्ने पनि कार्यविधिमा उल्लेख गरिएको छ ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले एकेडेमीमार्फत पत्रकारिताको विस्तारित आयामहरूमा समग्र सञ्चारकर्मीको क्षमता विकास, पाठ्यक्रममा आधारित तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताए।
‘एकेडेमी सञ्चालन गर्नका लागि संस्थानका अध्यक्ष तथा महाप्रबन्धक संरक्षक रहनेगरी एक कार्यदल गठन गरिनेछ,’ महाप्रबन्धक ऐरीले भने, ‘एकेडेमीलाई आवश्यकता अनुसार विषयगत विज्ञ, प्रशिक्षक र परामर्शदाताको रोस्तर तयार गरिने छ।’ त्यस्तै एकेडेमीले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा सम्बन्धित सरकारी निकाय, विश्वविद्यालय, पत्रकार महासङ्घ, विशेषज्ञ एवम् निजी संस्थाहरूसँग कार्य समन्वय गर्ने, डिजिटल अर्काइभ, इ लाइब्रेरी, अनलाइन तालिम, डिजिटल प्रकाशन प्रणालीको सुधार तथा बिस्तार गर्ने लगायतका जिम्मेवारी पुरा गर्ने उनले बताए।
प्रकाशित: १४ मंसिर २०८२ १८:४३ आइतबार