समाज

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति र संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न निर्देशन दिएका छन्।

प्रहरी प्रधान कार्यालयमा बुधबार पदबहालीपश्चात् आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले अनधिकृत सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पारे।

'विधिको शासन पालना गराउने क्रममा सङ्गठनप्रति पूर्ण बफादार रही कुनै पनि प्रलोभन, प्रभाव वा दबाबबाट मुक्त भई नागरिकको हकहित र कानुनी राज्यको पालना सुनिश्चित गर्न उच्च नैतिक चरित्र र व्यावसायिक इमानदारी सबै प्रहरी कर्मचारीबाट प्रदर्शन हुने अपेक्षा लिएको छु,' महानिरीक्षक केसीले भने।

उनले सङ्गठनको श्रीवृद्धि, प्रतिष्ठा र नागरिकको विश्वासलाई केन्द्रमा राख्दै सबै प्रहरी कर्मचारी एक ढिक्का भई नेपाल सरकार र आमनागरिकका अपेक्षाअनुरूप काम कारबाही अगाडि बढ्नु आवश्यक रहेको बताए।

राष्ट्रसेवक कर्मचारीबाट प्रवाह हुने सेवाको स्तर र आम नागरिकप्रति गरिने व्यवहार अहिलेको ज्वलन्त प्रश्न र सुधारको क्षेत्र रहेको उल्लेख गर्दै उनले साङ्गठनिक र व्यक्तिगत रूपमा आमनागरिकप्रतिको व्यवहारलाई अझ जनउत्तरदायी बनाउन निर्देशन दिए। 

महानिरीक्षक केसीले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन उपलब्ध साधनस्रोतको उच्चतम उपयोग गर्दै कल्याणकारी कार्य र प्रहरी कर्मचारीको कार्य वातावरणमा सुधारका प्रयास निरन्तर जारी राखिने बताए।

गृहमन्त्री सुधन गुरुङबाट दर्ज्यानी चिह्नद्वारा सुशोभित भएपश्चात् प्रहरी प्रधान कार्यालय पुगेका महानिरीक्षक केसीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृत तथा जवानले स्वागत गरेर्का थिए।

त्यस क्रममा प्रहरी महानिरीक्षक केसीले हेडक्वार्टरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

प्रकाशित: १९ कार्तिक २०८३ ०६:४५ बिहीबार