समाज

भोटेकोशी बाढीपछि पर्यटनलाई पुरानै लयमा फर्काउन पहल

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रप्रति ऐक्यबद्धता जनाउँदै नेपालका सुरक्षित र खुला पर्यटकीय क्षेत्रमा पर्यटक बोलाएर पर्यटनलाई पुरानै लयमा फर्काउन पहल थालिएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी अध्यक्ष सुम्निमा उदासले नेपालका धेरै पर्यटकीय क्षेत्र खुला रहेको र पर्यटकलाई स्वागत गर्न तयार रहेको बताएकी छन्। उनले बाढीबाट ठुलो मानवीय र भौतिक क्षति भएको भन्दै प्रभावित समुदायसँगै पर्यटनमा निर्भर लाखौं मानिसको रोजगारी र आम्दानी जोगाउन पनि ध्यान दिनुपर्ने बताइन्।

‘फ्ल्यास फ्लडको त्रासदी निकै ठुलो छ। मानिसको ज्यान गएको छ, परिवार विस्थापित भएका छन्, पूर्वाधारमा क्षति पुगेको छ र धेरै समुदाय सम्पर्कविहीन भएका छन्,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको भिडियो सन्देशमा उनले भनेकी छन्, ‘मानवीय संकटसँगै मानिसको रोजगारी र देशको अर्थतन्त्रमा परेको असर पनि देखिन थालेको छ।’

‘यो विपत्तिसँग जुधिरहँदा नेपालको अन्य भागको पर्यटनलाई असर पर्न दिनु हुँदैन। पर्यटन हाम्रो लागि केवल उद्योग होइन, लाखौं मानिसको रोजगारी र आम्दानीको आधार हो,’ उदासले थप भनेकी छन्। उनले नेपालका केही क्षेत्रमा अझै समस्या रहे पनि धेरै पर्यटकीय क्षेत्र खुला रहेको बताएकी हुन्।

‘प्रभावित समुदायसँगै उभिँदै खुला रहेका नेपालको भ्रमण र अनुभवलाई निरन्तरता दिऔं। नेपाल आउनुहोस्। तपाईंको यात्राले धेरै मानिसको रोजगारी र आम्दानी चलिरहन सहयोग गर्न सक्छ,’ उनले भनिन्।

यसैबिच, नेपालका लागि इजरायली राजदूत स्मुलिम बासले पनि एक भिडियो सन्देश जारी गर्दै बाढी र पहिरोबाट केही क्षेत्र प्रभावित भए पनि नेपालका धेरै पर्यटकीय क्षेत्र खुला रहेको बताएका छन्।

उनले प्रभावित क्षेत्रमा सावधानी अपनाउनुपर्ने भए पनि एउटा क्षेत्रमा भएको विपत्तिले सिंगो नेपाल असुरक्षित नरहेको बताए। उनले पर्यटकलाई आफू जाने क्षेत्रको अवस्था बुझेर र स्थानीय सुरक्षा निर्देशन पालना गरेर मात्र यात्रा गर्न उनले आग्रह गरेका छन्।

राजदूत बासका अनुसार नेपालको पर्यटन हजारौं परिवार, गाइड, होटल कर्मचारी, चालक, किसान, साना व्यवसायी, हस्तकला व्यवसायी र युवाको आम्दानीसँग जोडिएको क्षेत्र हो। उनले नेपालका हिमाल, ताल, हरिया पहाड, गाउँ र सहरदेखि तराईसम्मका धेरै ठाउँ पर्यटकका लागि खुला रहेको बताएका छन्।

एउटा घटनाका आधारमा सिंगो नेपाललाई असुरक्षित नठान्न उनले सबैसँग आग्रह गरे। ‘जहाँ सावधानी आवश्यक छ, त्यहाँ सावधानी अपनाउनुहोस्। जहाँ अवस्था सुरक्षित छ, त्यहाँ नेपालले दिने सुन्दरता अनुभव गर्न नहिचकिचाउनुहोस्,’ भिडियोमा उनले भने।

राजदूत बासले इजरायली पर्यटकसहित विश्वभरका मानिसलाई नेपाल भ्रमणका लागि आग्रह गर्दै पर्यटनमार्फत विपत्तिको समयमा नेपाली परिवारको रोजगारी र आम्दानीमा सहयोग गर्न सकिने उल्लेख गरेका छन्। 

प्रकाशित: २७ भाद्र २०८३ ०८:४४ शनिबार