कैलालीको भजनी नगरपालिका वडा नं ५ बस्ने ५६ वर्षीया हसनादेवी डगौरा मंगलबार राति घरमा सुतिरहेकी थिइन्। उनले कसैको केही बिगारेको वा केही गल्ती गरेको पनि थिइनन्। एक्कासि घरमा ४ जना प्रवेश गरेर उनलाई ‘तँ बोक्सी होस्’ भन्दै लछारपछार गरी मरनासन्न हुने गरी कुटपिट गर्न थाले। बुढी हजुरआमालाई ४ जनाले सामुहिक रूपमा मरनासन्न हुने गरी कुटपिट गरेको देखेपछि उनका नाति संजित चौधरीले बचाउन गए। उनमाथि समेत निर्घात कुटपिट गरियो।
घरमा सुतिरहेको बेला आएका चार जनाले बोक्सीको आरोप लगाएर गालीबेइज्जत गर्दै कुटपिट गरेको पीडित महिलाले बताएकी छन्। मंगलबार राति ९ बजेतिर चारै जना महिलाको घरमा पुगेर कुटपिट गरेका थिए।
कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक योगेन्द्र तिमिल्सिनाले बोक्सीको आरोपमा कुटपिट गर्ने चार जनालाई पक्राउ गरेर कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको बताएका छन्।
बोक्सीको आरोपमा महिलालाई कुटपिट गरेको आरोपमा भजनी नगरपालिका–५ का कृष्ण डगौरा, राजु डगौरा, राजन डगौरा र उर्मिला डगौरालाई पक्राउ गरेको उनले बताएका छन्।
गत असार ३२ गते बोक्सीको आरोपमा एकजना महिलाको हत्या भएको घटना सेलाउन नपाउँदै करिव ३ महिनाको अवधिमा बोक्सीको आरोपमा यो घटना घटेको हो।
गत असार ३२ गते साँझ मुसलधारे पानी परिरहेको थियो।
कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनी बस्ने ५२ वर्षीय जालिना देवी चौधरीलाई बाेक्सीको आरोपमा सडकछेउबाट ४/५ जनाले कुटपिट गर्दै लछारपछार गरी घरको आँगनमा ल्याए।
ज्यान जोगाउन जालिना घर पछाडिको शौचालयभित्र गएर लुकिन्। सव्वलसहित शौचालय तोडफोड गरेर बाहिर निकालेर ४/५ जनाले कुटपिट गरेर आफ्नो आमाको हत्या गरिएको जालिनाका छोरा रवि चौधरीले बताएका छन्। कुटपिटबाट अर्धचेत रहेकी आमाले बिहान ५ बजेतिर अन्तिम सास फेरेको उनले बताए।
छिमेकीको घरमा एक महिनाअघि एकजनाको मृत्यु भएकोमा बाेक्सी लगाएर मारेको आरोप लगाएर आमामाथि कुटपिट भएको उनले बताए। ‘मलाई ४/५ जनाले धेरै कुटपिट गरे, मलाई धेरै गाह्रो हुन थाल्यो, अब म बाँच्दिन’ श्रीमतीले प्राण त्याग्नुअघि भनेको उदृत गर्दै राजेन्द्र चौधरीले भने ’मेरो श्रीमतीलाई सबैका अगाडि कुटपिट गरेर हत्या गरिएको हो, सबैका अगाडि कुटपिट हुँदा समेत कोही पनि बचाउन आएनन्।’
करिव तीन महिनाको अन्तरालमा सार्वजनिक भएका यी दुई घटना हुन्। विश्व प्रविधिको तीव्र विकासले फड्को मार्दै कृत्रिम बौद्धिकताको युगमा लम्किरहेका बेला कैलालीमा भने जकडिएको अन्धविश्वासको निर्दोष महिलाले शिकार बन्नुपरेको छ।
बोक्सीको आरोपमा पटकपटक निर्दोष महिलाहरूले अत्याचार खेप्नु परिरहेको छ। देश संघीयतामा गएर तीन तहका सरकार बने पनि समाजमा अन्धविश्वास हटाउन प्रभावकारी कदम नचालिएकाले बोक्सीको घटना दोहोरिरहने गरेको विश्लेषण गरिएको छ।
गाउँ समाजमा अझै अन्धविश्वास व्याप्त भएकाले पटकपटक बोक्सीको आरोपमा निर्दोष महिलामाथि कुटपिट, हत्या, अपमान लगायतका जघन्य घटना भैरहेको सामाजिक अभियन्ता तथा महिला अधिकारकर्मी वसन्ती चौधरी बताउँछिन्।
‘बोक्सीको अन्धविश्वास गाउँ समाजमा अझै धेरै छ, नपढेका मान्छेमा मात्र होइन्, पढेलेखेकै मान्छेमा पनि यो अन्धविश्वास रहेको छु’ उनले भनिन्।
कानुनको डरले मुखले पनि त्यो कुरा पत्याएर नै बोक्सीको आरोप लगाएर कुटपिट गर्दा पनि समाज चुप लागेर बस्ने गरेको उनी बताउँछिन्।’
कसैको गाईभैसीले दुध नदिँदा, कोही विरामी पर्दा वा कसैको केही नोक्सान हुँदा कुनै निर्दोष महिलाले बोक्सी लगाएर भएको हो भन्दा धेरैले पत्याउने गरेका छन्’ उनले भनिन्।
बोक्सी लगाएको भनेर महिलालाई कुटपिट, हत्या मात्र नभई समाजले तिरस्कार समेत गर्ने गरेको उनको भनाइ छ।
‘अहिले पनि बोक्सीको आरोपमा निर्दोष महिलाले कुटपिट, हत्या, अपमान र मानसिक यातना खेप्नुपरेको छु’ उनले भनिन्, अन्धविश्सास अझै रहेकाले यस्तो जघन्य अपराध हुदाँ पनि गाउँ समाजमा सवै चुपचाप झै हुने गरेका हुन्।’
प्रकाशित: १६ कार्तिक २०८३ १२:२९ सोमबार