समाज

प्रतिनिधि सभाको पहिलो बैठक सिंहदरबारमै बस्ने

संसद सचिवालयलाई शहरी मन्त्रालयले भन्यो: हल तयार हुनै लाग्यो

सहरी विकास तथा भवन निर्माण विभागले सिंहदरबार परिसरभित्र निर्माण भइरहेको संसद्को नयाँ भवनभित्रै प्रतिनिधि सभाको पहिलो बैठक बसाउन एउटा मुख्य हल तयार हुनै लागेको औपचारिक जानकारी गराएको छ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले सोमबार नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्याल र संसद् सचिवालयका महासचिव पदम पाण्डेलाई भेटेरै यस्तो जानकारी गराएका थिए। ‘अब बन्ने प्रतिनिधिसभाको पहिलो बैठक बोलाउनु अघि हल तयार हुन्छ कि भन्ने उहाँहरूको चासो र जिज्ञासा थियो। पहिलो बैठक बोलाउनु अघि जसरी भए पनि एउटा मुख्य हल तयार गर्छौं भनेर आश्वास्त पारेका छौं’ बोहराले भने, ‘यस विषयमा बुझ्न उहाँहरू संसद् भवन बनिरहेको ठाउँमै आउनु भएको थियो। म पनि त्यही ठाउँमा पुगेर आश्वासन दिएँ।’

यस विषयमा सहरी विकास मन्त्री कुमार इङनामले पनि चासो राख्ने गरेको र उनले दिनदिनै प्रगति विववरण बुझ्ने गरेको बोहराले बताए। बिहीबार प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि पहिलो बैठक बोलाउनु अघि नै कुनै पनि अवस्थामा बैठक बसाउन हल तयार गर्नु पनि बाध्यता सरकारलाई छ। सहरी विकास मन्त्रालयले यसको जिम्मेवारी भवन निर्माण विभागलाई दिएको छ। 

बोहराका अनुसार यतिबेला रातभरि काम गरेर भए पनि सिंहदरबार परिसरभित्र निर्माण भइरहेको संसद् भवन, त्यसमा पनि एउटा मुख्य हल तयार गर्ने काम भइरहेको छ। ‘अहिले ठेकेदारले रातभरि काम गरिरहेको छ। हामीले दैनिक अनुगमन गरिरहेका छौं। संसद्को पहिलो बैठक बोलाउनुअघि कुनै पनि अवस्थामा मुख्य हल तयार गर्न हामी बाध्य छौं’, बोहराले भने, ‘प्रतिनिधिसभाको निर्वाचन भइसकेको छ। कमसेकम एउटा मुख्य हल र एउटा भिआइपी कक्ष जसरी भए पनि तयार गरीरहेका छौं।’

सरकारले झन्डै ५ अर्ब रुपैयाँ खर्च गरेर सिंहदरबार परिसरभित्र संसद् भवनको निर्माण कार्य गरिरहेको छ। त्यति ठूलो लगानी गरेर संसद् भवन बनाइरहेको बेला अब बन्ने संसद्को बैठक बोलाउन अर्को हल खोज्न उपयुक्त नहुने मन्त्रालयमा एक उच्च कर्मचारीले भने, ‘त्यसैले पहिलो बैठक बोलाउनुअघि नै मुख्य हल तयार गरेनौं भने सरकारको कमजोरी उदांगिन्छ।’ 

ती कर्मचारीका अनुसार यतिबेला भवन विभागले सिंहदबार परिसरभित्र प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बसाउन एक साथ १२ वटा ब्लकहरूको निर्माण गरिरहेको छ। ‘तीमध्ये कमसेकम एउटा ठूलो हल बनाउने हाम्रो योजना छ। यो योजना पूरा हुनेछ’, ती कर्मचारीले भने। उनका अनुसार एउटा हल चैतको पहिलो साता तयार भइसकेपछि अन्य भवनहरूको निर्माणको काम विस्तारै आगामी ६ महिनादेखि वर्ष दिनसम्ममा पूरा हुने छ। 

भवन निर्माण विभागले बैठक बस्नुअघि हल तयार भएन भने के गर्ने भन्ने विषयमा विकल्प नै नसोचेको विभागका महानिर्देशक बोहराको भनाइ छ। ‘हामीसँग अर्को विकल्प नै छैन। जुनसुकै अवस्थामा हल तयार गर्नु पर्ने छ।’ 

संसद्को पहिलो बैठक चैत पहिलो सातासम्म बस्ने सम्भावना छ। त्यतिबेलासम्म नयाँ संसद् भवन र अन्य आवश्यक तयारी पूरा हुन्छ कि हुँदैन भन्ने विषयमा सचिवालयका कर्मचारीहरू चिन्तित छन्।

प्रकाशित: २६ फाल्गुन २०८२ १२:३० मंगलबार