समाज

प्रेमिकाको हत्या गर्न १ लाखको सुपारी, फिल्मी शैलीमा दुर्घटना भएपछि योजना असफल

आफ्नो पारिवारिक सम्बन्ध बिगारेको भन्दै तीन वर्षदेखि लिभिङ टुगेदरमा रहेकी प्रेमिकाको हत्या प्रयास गर्ने एक भारतीय नागरिक कपिलवस्तुमा पक्राउ परेका छन्।

हत्याको लागि एक लाख भारतीय रुपैयाँको सुपारी दिएर भाडाका व्यक्ति समेत प्रयोग गरी रचिएको योजना कार दुर्घटना भएपछि फिल्मी शैलीमा असफल भएको हो।

कपिलवस्तु प्रहरीका अनुसार भारत उत्तर प्रदेशका ३५ वर्षीय हफिजूल्लाह मुसलमानले गत कार्तिक १५ गते आफ्नी ४० वर्षीया प्रेमिकालाई विवाह गर्ने बहानामा चन्द्रौटा बोलाएका थिए।

उनको योजना भने अर्कै थियो। उनले प्रेमिकाको हत्या गर्नका लागि एक लाख रुपैयाँमा मानिसहरू समेत भाडामा लिएका थिए।

योजना अनुसार हफिजूल्लाह, उनकी प्रेमिका र हत्याका लागि सुपारी लिएका व्यक्तिहरू एउटै कार (युपी ५५ एबी ६९७९) मा बसेर चन्द्रौटाबाट तौलिहवातर्फ लागे। कार कपिलवस्तु नगरपालिका–४ लौसा गाउँ नजिक पुगेपछि हफिजूल्लाहले नाइलनको डोरीले प्रेमिकाको घाँटी कसेर हत्या गर्ने प्रयास गरे।

दुर्घटनापछि महिलाले चिच्याएर गुहार मागिन्। तत्कालै ट्रकका चालक र सहचालकले अभियुक्त हफिजूल्लाहलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरे भने महिलाको उद्धार गरी उपचारका लागि अस्पताल पठाए।

प्रहरी अनुसन्धानका अनुसार अभियुक्त मुसलमान र पीडित महिला तीन वर्षदेखि लिभिङ टुगेदर सम्बन्धमा थिए। गत असोज ३१ गते उनीहरू बुटवलमा सँगै हुँदा महिलाले मुसलमानको मोबाइलबाट दुवैजनाको तस्बिर उनकी श्रीमतीको मोबाइलमा पठाइदिएकी थिइन्।

त्यही घटनापछि मुसलमानको घरपरिवारमा खटपट सुरु भयो। आफ्नो पारिवारिक जीवन बर्बाद पारेको भन्दै उनले बदला लिने नियतले प्रेमिकाको हत्या गर्ने योजना बनाएका थिए।

‘परिवार बिगारेको भन्दै मार्ने योजनाअनुसार उनले कोर्ट म्यारिज गर्ने बहानामा प्रेमिकालाई बोलाएको देखिन्छ,’ प्रहरी उपरीक्षक सन्तोष आचार्यले भने।

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गर्न खोजिएको डोरी र गम्छाका साथै केही भारतीय समाचार च्यानलको नाम लेखिएको माइक (बुम) समेत बरामद गरेको छ। प्रहरीले अभियुक्त सञ्चारकर्मी हुन सक्ने आशंका गरेको छ।

पीडित महिलाको किटानी जाहेरीका आधारमा पक्राउ परेका मुसलमानलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी ज्यान मार्ने उद्योग अन्तर्गत अनुसन्धान अगाडि बढाइएको छ।

घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८२ १९:४६ सोमबार