भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका क्रममा बुधबार (आज) नेपाल आउने भएका छन्।
भारतको विदेश मन्त्रालयले सोमबार उनको भ्रमणबारे जानकारी दिएको थियो। भ्रमणका क्रममा पारस्परिक हितका द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार भारत र नेपालबिच विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ। मिश्रीको भ्रमणले दुई देशबिच नियमित हुँदै आएको उच्चस्तरीय आदानप्रदानलाई निरन्तरता दिनुका साथै द्विपक्षीय साझेदारी थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्। भ्रमणका क्रममा दुई देशबिचको समग्र सम्बन्धको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान हुनेछ।
नेपाल बसाइका क्रममा राई र मिश्रीबिच द्विपक्षीय वार्ता हुनेछ। मिश्रीले नेपालका उच्चस्तरीय अधिकारीहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ। उनी बिहीबार नै नयाँदिल्ली फर्किनेछन्। उनको भ्रमणले नेपाल र भारतबिचको लामो समयदेखिको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
मिश्रीको भ्रमण नेपाल र भारतबिच विभिन्न क्षेत्रमा सहकार्य भइरहेका बेला हुन लागेको हो। नेपाल र भारतबिच खुला सीमा, जनस्तरको सम्बन्ध तथा साझा सांस्कृतिक र ऐतिहासिक सम्बन्ध रहँदै आएको छ।
व्यापार, ऊर्जा, लगानी र पारवहनका क्षेत्रमा पनि दुवै देशबिच सहकार्य हुँदै आएको छ। विदेश सचिवस्तरीय बैठकले यी क्षेत्रमा भएका प्रगतिको समीक्षा गर्नुका साथै आगामी सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १८ कार्तिक २०८३ ०७:५१ बुधबार