पोखरामा भारतीय कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन्।
पोखरा महानगरपालिका-१८ गैरीचौतारा घुम्तीस्थित सडकबाट भारतीय नम्बरको कार फेवातालमा खसेको हो। शुक्रबार बिहान करिब ४ः५० बजे सेदीबाट लेकसाईडतर्फ आउँदै गरेको कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको प्रहरीले जनाएको छ।
कारमा चार जना सवार रहेको खुलेको छ। दुर्घटनाको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्र.ना.उ. सुर्यबहादुर बोगटीको कमाण्डमा १५ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल नं. २४ हेक्वा कालिका गण कास्कीबाट स.प्र.नि. शरण खड्काको कमाण्डमा १३ जनाको टोलीले दुई जनालाई मृत र दुई जनालाई जीवितै उद्धार गरेको जनाइएको छ।
उद्धारका क्रममा भारत बिहार प्रदेश मोतिहरी जिल्ला रक्सोल घर बताउने बर्ष २७ को अनमोल कुमार यादव सोही ठाउँ घर बताउने बर्ष ३३ को सुरज यादवलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको थियो। दुवैको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको कास्की प्रहरीले जनाएको छ।
त्यसपछि बिहान ५ः५५ बजे फेवातालको पानीभित्रबाट थप दुई जनालाई अचेत अवस्थामा उद्धार गरिएको थियो। उनीहरूलाई पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ। मृतकमा भारत बिहार प्रदेशको पूर्वी चम्परण जिल्ला रक्सौल घर भएका बर्ष २६ को नवदीपकुमार यादव रहेको निजको आधार कार्डबाट खुलेको प्रहरीले जनाएको छ।
अर्का मृतक बर्ष अं. ४०/४५ को पुरुष व्यक्तिको भने पहिचान नखुलेको प्रहरीले जनाएको छ।
बिहान ६ः२० बजे क्रेनको सहयोगमा फेवातालको पानीभित्रबाट भारतीय बिआर ०५ डिबी ६७५९ नं.को कार निकालिएको थियो। कारलाई व.प्र.का. बैदामको कार्यालयमा ल्याएर राखिएको प्रहरीले जनाएको छ।
घटनास्थल व.प्र.का. बैदामबाट अं. २ कि.मि. पश्चिम पर्छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १९ भाद्र २०८३ ०९:०० शुक्रबार