भारतीय सेनाध्यक्ष धीरज सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका छन्। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा सेठ नेपाल आएका हुन्।
नेपाल भ्रमणका क्रममा सेठलाई सोमबार राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, सोमबार नै नेपाली सेनाका प्रधानसेनापति सिग्देल र भारतीय सेनाध्यक्ष सेठबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने कार्यक्रम छ। वार्तामा नेपाल–भारतबीचको सैन्य सहकार्य तथा दुई देशका सेनाबीचको सम्बन्धका विविध पक्षमा छलफल हुने अपेक्षा गरिएको छ।
नेपाल र भारतका सेनाबीच लामो समयदेखि उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदान हुँदै आएको छ। दुवै देशका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्पराले पनि दुई देशबीचको विशेष सैन्य सम्बन्धलाई प्रतिबिम्बित गर्दै आएको छ।
नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी र भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा सन् १९५० देखि सुरु भएको हो। यसलाई नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सम्मानको महत्वपूर्ण प्रतीकका रूपमा लिइन्छ।
प्रकाशित: ३१ श्रावण २०८३ १८:३५ आइतबार