समाज

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ काठमाडौंमा, राष्ट्रपतिबाट ‘मानार्थ महारथी’ पाउने

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।

भ्रमणका क्रममा सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको ‘मानार्थ महारथी’ को दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौं आएका स्थल सेनाध्यक्ष सेठसँग उनकी धर्मपत्नी कोमल सेठ पनि सहभागी छिन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजङ्ग केसी र उनकी धर्मपत्नीले स्वागत गरेका थिए।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यस किसिमको उच्चस्तरीय भ्रमणले नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो एवं घनिष्ठ सैनिक सम्बन्धलाई अझ विस्तार र प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रकाशित: ३१ श्रावण २०८३ १९:४८ आइतबार