नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढीले हिमालय क्षेत्रमा देखिएको प्राकृतिक विपद्को जोखिम नेपालमा मात्र सीमित नरहेको देखाएको छ। नेपाल र भारतबीच सीमा पार भएर बग्ने नदीका कारण नेपालमा हुने अत्यधिक वर्षा र बाढीको असर भारतीय भूभागसम्म पुग्ने भएकाले भारतका विभिन्न राज्यसमेत उच्च जोखिममा छन्।
नेपालका हिमाल तथा पहाडी क्षेत्रमा उत्पत्ति हुने अधिकांश नदी दक्षिणतर्फ बग्दै भारत प्रवेश गर्छन् र अन्ततः गंगा नदीमा मिसिन्छन्। नेपालमा ६ हजारभन्दा बढी नदी तथा खोलानाला रहेको बताइन्छ। तीमध्ये कोशी, गण्डकी, कर्णाली र महाकाली प्रमुख नदी हुन्। यसबाहेक बागमती, कमला, राप्ती र बबईजस्ता नदीले पनि भारतको मैदानी क्षेत्रमा बाढीको जोखिम बढाउने गरेका छन्।
जलविज्ञहरूका अनुसार नेपालमा आएको हरेक बाढीको प्रभाव भारतमा एउटै प्रकृतिको हुँदैन। पहाडमा अत्यधिक वर्षापछि आएको बाढीले ठूलो मात्रामा ढुंगा, माटो र गेग्रान बगाएर ल्याउन सक्छ। कतिपय अवस्थामा भने नदी मैदानी क्षेत्रमा प्रवेश गरेपछि बाढीको तीव्रता कम हुन सक्छ। भारतमा बाढी कति विनाशकारी हुन्छ भन्ने कुरा नेपालमा परेको वर्षाको मात्रामा निर्भर हुँदैन। भारततर्फको वर्षा, नदीको जलस्तर, तटबन्ध, निकास प्रणाली तथा नदी आसपासको विकासले पनि महत्वपूर्ण भूमिका खेल्छ।
भारतको बिहार नेपालबाट उत्पत्ति हुने नदीका कारण सबैभन्दा बढी जोखिममा रहेको राज्य हो। उत्तर बिहारको ठूलो भूभाग बाढी प्रभावित क्षेत्रका रूपमा वर्गीकृत छ। कोशीलाई ‘बिहारको दुःख’का रूपमा समेत चिनिन्छ। कोशीसँगै गण्डक, बागमती र कमला नदीले बिहारमा पटक–पटक ठूलो बाढी निम्त्याउने गरेका छन्।
त्यसैगरी उत्तर प्रदेशका गोरखपुर, बहराइच, लखिमपुर खिरी र श्रावस्ती लगायतका क्षेत्र घाघरा, राप्ती तथा गण्डक नदीबाट प्रभावित हुन सक्छन्। उत्तराखण्डमा महाकाली–शारदा नदी प्रणालीको जोखिम छ भने पश्चिम बंगालका केही क्षेत्रमा मेची र महानन्दाको प्रभाव पर्न सक्छ।
नेपालको बाढीलाई भारतका लागि चेतावनीका रूपमा हेर्नुपर्ने विज्ञहरूको भनाइ छ। उनीहरूका अनुसार दुवै देशले सीमा पार गर्ने नदीबारे तथ्यांक आदानप्रदान, पूर्वसूचना प्रणाली, बाढी पूर्वानुमान तथा विपद् व्यवस्थापनमा अझ बलियो सहकार्य गर्न आवश्यक छ।
जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा वर्षाको स्वरूप र चरम मौसमका घटना थप अनिश्चित बन्दै गइरहेका बेला नेपाल र भारतबीच नदी व्यवस्थापन तथा विपद् तयारीमा सहकार्य अझ महत्वपूर्ण बन्दै गएको छ। नेपालमा आउने ठूलो बाढी त्यसैले केवल नेपालको समस्या नभई साझा हिमालय नदी प्रणालीसँग जोडिएको क्षेत्रीय चुनौतीसमेत हो।
-बीबीसीको सहयोगमा
प्रकाशित: १८ भाद्र २०८३ १६:२० बिहीबार