भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा नेपाललाई छिमेकी भारतले सक्रियताकाे साथ सहयोग गरिरहेको छ।
बाढीबाट जनधनको ठूलो क्षति भएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि भारतले सुरुआती दिनदेखि नै राहत सामग्री, सुरुङ उद्धार टोली तथा प्राविधिक जनशक्ति उपलब्ध गराएका छन् भने विभिन्न आर्थिक तथा प्राविधिक सहयोगको प्रतिबद्धता जनाएका छन्।
बाढीबाट तल्लो तटीय क्षेत्रमा रहेका आवासीय क्षेत्र, सडक, पुल तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुगेको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहित राज्यका विभिन्न निकाय उद्धार तथा राहत कार्यमा परिचालित छन्।
भारतबाट ११ टन राहत सामग्री बोकेको चौथो चरणको उडान आज बिहान काठमाडौँमा अवतरण गरेको छ। राहत सामग्रीमा खोज तथा उद्धारका लागि आवश्यक उपकरणसहितको सुरुङ उद्धार प्राविधिक टोली, डीएनए विश्लेषणका लागि फरेन्सिक विज्ञहरूको टोली तथा कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र सरसफाइ किटलगायत सामग्री समावेश रहेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ।
स्थलगत निरीक्षण टोलीको मूल्याङ्कनका आधारमा विशेष उपकरणसहित १३ सदस्यीय भारतीय सेनाको सुरुङ उद्धार टोली नेपाल आएको हो। उक्त टोलीले नेपाली विपद् प्रतिकार्य टोलीले सञ्चालन गरिरहेको खोज तथा उद्धार कार्यमा सहयोग गर्नेछ। मृतकका अवशेषको पहिचानका लागि डीएनए नमुना विश्लेषणमा सहयोग गर्न छ वटा फरेन्सिक टोलीका १९ सदस्यीय समूह पनि नेपाल आएको दूतावासले जनाएको छ।
यसअघि भारतले शनिबारसम्म भारतीय वायुसेनाका विमानमार्फत नेपालमा करिब ५७ दशमलव ५ टन राहत सामग्री ढुवानी गरिसकेको छ। बाढी आएको बुधबार नै भारतीय वायुसेनाको विमानले अस्थायी आश्रयस्थल, कम्बल, सरसफाइ किट, सौर्य बत्ती तथा औषधिलगायत १० टन आकस्मिक राहत सामग्री नेपाल ल्याएको थियो।
त्यसको भोलिपल्ट बिहीबार भारत सरकारले पाल, कम्बल, सरसफाइ किट, सौर्य बत्ती, पानी निकाल्ने पम्प, भान्साका सामग्री, जेनेरेटर सेट, औषधि तथा खाद्य सामग्रीसहित ३७ दशमलव ५ टन राहत सामग्री पठाएको थियो।
त्यसपछि भारतले शुक्रबार पाँच सदस्यीय भारतीय सेनाको सुरुङ उद्धार प्रारम्भिक निरीक्षण टोली र छ सदस्यीय चिकित्सा टोली पठाउनुका साथै पोर्टेबल जेनेरेटर सेट, डिग्निटी किट, खाद्य सामग्री, पानी शुद्धीकरणका ट्याब्लेट तथा औषधिसहित थप १० टन सामग्री पठाएको थियो।
प्रकाशित: १४ भाद्र २०८३ ११:३८ आइतबार



