समाज

बाढीपीडितका लागि भारतद्वारा १० टन राहत सामग्री र औषधि सहयोग

नेपालमा बाढीले निम्त्याएको विनाशकारी विपद्को सामना गर्न भारत सरकारले १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि सहयोग पठाएको छ।

भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बाढी प्रभावितहरूको उद्धार तथा राहतका लागि भारतले तत्काल १० टन राहत सामग्री र औषधि नेपालतर्फ पठाएको बताएका हुन्।

विपद्को यस कठिन परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा दृढतापूर्वक उभिएको विदेशमन्त्री जयशङ्करले उल्लेख गरेका छन्।

बाढीका कारण ज्यान गुमाएका मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै उनले प्राकृतिक विपत्तिबाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता जनाएका छन्।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग संवाद गर्दै विपद् व्यवस्थापनमा नेपाललाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: १० भाद्र २०८३ २१:३४ बुधबार