गत सोमबारदेखि भ्रष्टाचार र सुशासन कायम गर्न जेन-जीले सुरु गरेको आन्दोलनले प्रभावित बनेको सर्वसाधारणको जनजीवन सामान्य बन्न थालेको छ ।
सरकारी कार्यालयमा सेवाग्राहीको भिड, यातायातको साधन निर्वाध रुपले चल्न थालेका छन् । शिक्षण संस्थामा पठन पाठन सुरु भएको छ । उद्योग तथा व्यापार व्यावसाय सञ्चालनमा आएका छन् ।
सदरमुकाम कलैया लगायत बाराको बजार क्षेत्र सिमरा, जीतपुर, निजगढलगायतका ठाउँमा मानिसको आवतजावत बढेको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग र पृथ्मी राजमार्गमा सवारीसाधनको संख्या बढेको छ । सार्वजनिक सवारीसँगै ढुवानीबाहक सवारी गुडेका छन् ।
सरकारी कामकाजका लागि सदरमुकाम कलैयामा रहेको जिल्ला प्रशासन कार्यालय, कलैया प्रदेशिक अस्पताल, यातायात कार्यालय, मालपोत, नापीलगायतका कार्यालयमा बिहान १० बजेदेखि नै सेवाग्राहीको भिड लागेको छ ।
जेन-जी आन्दोलनको क्रममा जिल्लामा रहेका सरकारी र व्यक्तिगत सम्पत्ति लुटपाट, तोडफोड र आगजनी हुन थालेपछि कर्फ्यू लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले बताए।
प्रकाशित: २९ भाद्र २०८२ १६:३६ आइतबार