शुक्रबार साँझ कञ्चनपुरको बेदकोट नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन दुर्घटना हुँदा शुक्लाफाँटा नगरपालिका–१० का ललित जोशीको मृत्यु भयो।
त्यसको केही दिनअघि सोही स्थानमा सवारी साधनको ठक्करबाट भीमदत्त नगरपालिका–१५ का दिपेन्द्र चन्दको मृत्यु भयो। सोही दिन शुक्लाफाँटा नगरपालिका–१ स्थित बसको ठक्करबाट सोही स्थानका द्रोपति भट्टको मृत्यु भयो। एक सातामा मात्रै सवारी दुर्घटनाबाट तीन जनाले ज्यान गुमाए।
जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्क हेर्दा कञ्चनपुरमा सडक दुर्घटना बढ्दो छ। सवारी साधन दुर्घटनामा परेर हरेक वर्ष धेरैले अकालमा ज्यान गुमाउँदै आएका छन्। गत असारमा मात्रै ६३ सडक दुर्घटनाबाट तीन जनाले ज्यान गुमाए। जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्म चार सय ४३ सवारी दुर्घटना भए। जसमध्ये ३७ जनाको मृत्यु भयो। त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा ५६ सवारी दुर्घटना भए। यसमध्ये ३२ जनाको सवारी दुर्घटनामा मृत्यु भयो। जसमा ४५ जना गम्भीर घाइते भए, भने २९ जना सामान्य घाइते भए।
त्यसैगरी सवारी दुर्घटनाबाट ६ चौपायाको मृत्यु भयो। आर्थिक वर्ष २०७९/२०८० मा ६३ सवारी दुर्घटना हुँदा ४३ जनाको मृत्यु भयो भने ५९ जना घाइते भए। आर्थिक वर्ष २०७८/७९ मा ९३ सडक दुर्घटना हुँदा ३५ जनाको मृत्यु भयो, भने ६३ जना घाइते भए। जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी दुर्घटना मोटरसाइकलका छन्। तीन वर्षमा पाँच सय १४ मोटरसाइकल दुर्घटना भए।
सवारी चालकले ट्राफिक नियम पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण पचभैया बताउँछन्। ‘साँघुरा सडकमा सवारी साधनको अत्यधिक चाप छ,’ उनले भने, ‘त्यसमा पनि चालकले ट्राफिक नियम पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएका छन्।’ उनले सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले विद्यालय र चालकसँग सचेतना कार्यक्रम गर्दै आएको बताए।
‘अहिले विद्यालयमै गएर विद्यार्थीलाई ट्राफिक नियमको डमो देखाउँछौँ,’ उनले भने, ‘विभिन्न समयमा चालकसँग पनि सचेतना कार्यक्रम गर्छौँ।’ यहाँका स्थानीय विष्णु जोशी सवारी दुर्घटनामा राज्य र नागरिक दुवै दोषी देख्छन्। ‘सवारी चालक स्वयं सचेत भए दुर्घटना कम हुन्छ,’ उनले भने, ‘चालकले जान्दाजान्दै ट्राफिक नियम मान्दैनन्, त्यसको नियमन गर्ने निकाय मौन छ।’ उनले अहिले पनि बजारमा तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेका कारण दुर्घटना हुने गरेको बताए।
सवारी चालकले ट्राफिक नियम उल्लङ्घन गर्दा दण्ड र जरिवाना हुन नसक्दा लापरबाही बढ्दै गएको अर्का स्थानीय सरस्वती भट्ट बताउँछन्। ‘सवारी दुर्घटना हुँदा जसले गल्ती गर्छ, उसलाई कारबाही हुनुको साटो सधैँ ठूलो सवारीको गल्ती देखिन्छ, नियम त पैदलयात्रीले पनि पालना गर्नुपर्छ,’ उनले भने, ‘फितलो कानुनका कारण चालक र पैदलयात्री दुवैले लापरबाही गर्छन्।’ उनले सवारी दुर्घटनामा मानवीय क्षति भए पनि आर्थिक लेनदेनमा कुरा मिलेर चालकलाई कारबाही नहुने भएका कारण चालकले लापरबाही गर्ने गरेको बताए। रासस
प्रकाशित: ३० असार २०८२ १०:११ सोमबार