समाज

सुर्खेतमा परिचयपत्र देखाएपछि लाइन नबसी ग्यास पाइने

सुर्खेतमा ज्येष्ठ नागरिक, सुत्केरी र अपाङ्गता भएका व्यक्तिले अब लामो लाइनमा नबसी ग्यास पाउने भएका छन्।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले उनीहरूको परिचयपत्रका आधारमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाएको हो।

ग्यासको अभाव भएपछि पछिल्लो समय सर्वसाधारणले घण्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्था छ। विशेष गरी ज्येष्ठ नागरिक, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिलाई लाइनमा बस्न कठिन हुने भएकाले प्रशासनले उनीहरूका लागि छुट्टै व्यवस्था गरेको हो।

वीरेन्द्रनगरमा ग्यास वितरण गर्ने प्रत्येक सप्लायर्सले वितरण गरिएको दिन १० वटा सिलिन्डर त्यस्ता सेवाग्राहीका लागि छुट्टाउनेछन्। हाल वीरेन्द्रनगरमा दैनिक ६ देखि ८ वटा सप्लायर्सबाट ग्यास वितरण हुने भएकाले प्रशासनको सिफारिसमा दैनिक करिब ६० देखि ८० वटा सिलिन्डर ज्येष्ठ नागरिक, सुत्केरी र अपाङ्गता भएका व्यक्तिलाई उपलब्ध गराइनेछ।

ग्यास लिनका लागि ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक परिचयपत्रको प्रतिलिपि, सुत्केरीले अस्पतालबाट जारी भएको दुई महिनाभित्रको सुत्केरी कार्ड र अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ।

ती कागजातका आधारमा जिल्ला प्रशासन कार्यालयले सम्बन्धित ग्यास सप्लायर्सलाई सिफारिस गर्नेछ।

सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीका अनुसार सोमबारदेखि नै लाइनमा बस्न कठिन हुने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सुत्केरीका लागि छुट्टाइएको ग्यास प्रशासनको सिफारिसमा उपलब्ध गराउने व्यवस्था सुरु गरिएको हो।

‘लाइनमा बस्न कठिन हुने नागरिकलाई ग्यास लिन सहज होस् भनेर परिचयपत्रका आधारमा सिफारिस गर्ने व्यवस्था मिलाएका छौँ’,कार्कीले भने,‘प्रशासनको यो व्यवस्थाले ग्यासको लाइनमा लामो समय बस्नुपर्ने बाध्यतामा रहेका ज्येष्ठ नागरिक, सुत्केरी र अपाङ्गता भएका व्यक्तिलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।’

प्रकाशित: २६ श्रावण २०८३ १४:२२ मंगलबार