वीरगन्जको सिर्सियास्थित एकीकृत जाँच चौकी (आईसीपी) भित्रै आयातकर्ताका प्रतिनिधिलाई कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। समाचार संकलनका लागि जाँदा समेत सहजै प्रवेश नपाइने आईसीपीभित्रै बाहिरबाट आएका व्यक्तिहरूले आयातकर्ताका प्रतिनिधिलाई कुटपिट गरेको पाइएको हो।
भदौ ३० गते राति आईसीपीमा प्रवेश गरेका प्रकाश साह, अजय साह, विपिन साहलगायत सात–आठ जनाको समूहले फलफूल आयातकर्ताका प्रतिनिधि अरुण यादव र मिथिलेश साहलाई कुटपिट गरेको पर्सा प्रहरीले जनाएको छ।
घटनापछि आईसीपीभित्र सिन्डिकेट चलाउनेहरूको हालीमुहाली रहेको आरोपसमेत लागेको छ।
अरुण यादव र मिथिलेश साहलाई कुटपिट गरेको जाहेरीका आधारमा वीरगन्ज महानगरपालिका–२५ का राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति प्रकाश साह तुरहालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक नवीन थापाले बताएका छन्।
पक्राउ परेका प्रकाश साहलगायतका व्यक्तिले भन्सार परिसरबाट बाहिरिँदै गरेको गोलभेँडा लोड गरिएको गाडीलाई जबर्जस्ती रोक्न खोजेपछि विवाद भएको प्रहरीले जनाएको छ।
आफूहरू स्थानीय भएको र आफूहरूले चाहेमा आईसीपीबाट कसैको पनि गाडी निस्कन नदिने भन्दै प्रकाश साह, अजय साह र विपिन साहलगायतले सुरक्षाकर्मीकै अगाडि कुटपिट सुरु गरेको पीडित अरुण यादवले बताएका छन्।
आईसीपीभित्र आयातकर्ताका प्रतिनिधिलाई कुटपिट गरिएको देखेपछि त्यहाँ खटिएको सशस्त्र प्रहरीले घटनामा दोषी देखिएका व्यक्तिमध्ये विपिन साह तुरहालाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय श्रीपुरको जिम्मा लगाएको थियो।
माछाको ठूलो व्यापारी बताइने विपिनलाई राजनीतिक प्रभाव र पैसाको बलमा राति नै वडा प्रहरी कार्यालय श्रीपुरबाट छुटाएर लगिएको बताइएको छ।
विपिनलाई छुटाएर लगिएपछि पीडितहरूले त्यसको भोलिपल्ट विपिन साह तुरहा, अजय साह तुरहा, सञ्जय साह तुरहा, प्रकाश साह तुरहा, मुस्तुफा समानी, दिपु साह तुरहा र दिपु पटेलविरुद्ध वडा प्रहरी कार्यालय श्रीपुरमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा किटानी जाहेरी दर्ता गराउन लगेका थिए।
पीडितहरूको जाहेरी वडा प्रहरी कार्यालय श्रीपुरले दर्ता गर्न नमानेपछि उनीहरूले राति कुटिएको घटनाको भिडियो नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको सचिवालय, मधेश प्रदेशका डीआईजी र पर्सा प्रहरी प्रमुखलाई पठाएका थिए।
भिडियोमा आईसीपी परिसरभित्र पीडितहरू कुटिएको तथा कुटपिटमा संलग्न भनिएका व्यक्तिहरू स्पष्ट देखिएपछि घटनाको तेस्रो दिन प्रहरीका माथिल्लो निकायको दबाबमा उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी वडा सभापति प्रकाश साहलाई पक्राउ गरिएको हो।
मुद्दा दर्ता गर्नबाट रोक्न पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशील साहले प्रयास गरेको पीडितहरूले आरोप लगाएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख पवन भट्टराईले सुरुमा सामान्य झगडा भनिए पनि घटनाको अनुसन्धानका क्रममा भन्सार कार्यालयभित्र हुने कारोबारमा आफ्नो प्रभुत्व जमाउन खोजिएको खुलेको बताएका छन्।
पर्सा प्रहरीले आईसीपी नाकाबाट हुने माछा, तरकारी तथा फलफूलको आयातमा वर्चस्व जमाउने र एकाधिकार (सिन्डिकेट) कायम गर्ने होड नै घटनाको मुख्य कारण रहेको जनाएको छ।
प्रकाशित: ४ आश्विन २०८३ २१:०२ आइतबार