समाज

चक्रवात ‘अर्नब’को प्रभाव : यस्तो छ आइतबारसम्मको मौसम पूर्वानुमान

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण बिहीबारदेखि नेपालका विभिन्न भागमा वर्षा र हिमपात बढ्ने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबारसम्म देशका अधिकांश प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। केही स्थानमा भारीदेखि धेरै भारी वर्षा र हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। बुधबार देशका अधिकांश भागमा आंशिकदेखि साधारणतया बादल लाग्नेछ। हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ भने मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना छ।

बुधबार
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ। हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना छ।

राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रमा पनि मध्यम वर्षाको सम्भावना छ।

बिहीबार
बिहीबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि बादल लाग्नेछ भने अन्य भूभागमा आंशिक बादल रहनेछ। कोशी र बागमतीका हिमाली क्षेत्रमा केही स्थानमा तथा अन्य हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।

राति मौसम थप प्रतिकूल बन्ने अनुमान छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्नेछ। लुम्बिनीका पहाडी तथा तराई क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ।

शुक्रबार
शुक्रबार देशभर अधिकांश समय बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।

यी प्रदेशका केही स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा वा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।

राति पनि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। सातवटै प्रदेशका केही स्थानमा भारी वर्षा वा हिमपात तथा कोशी, मधेश, बागमती र गण्डकीका एक-दुई स्थानमा धेरै भारी वर्षा वा हिमपातको सम्भावना छ।

शनिबार
शनिबार पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा वा हिमपात हुन सक्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा वा हिमपातको सम्भावना रहेको छ।

आइतबार
आइतबार मौसममा सुधार आउने अनुमान छ। देशभर आंशिक बादल लाग्नेछ। हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। तराईका केही स्थानमा बिहान हुस्सु वा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०८३ ०९:१८ बुधबार