सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्ष २०८३/०८४ को साउन महिनादेखि मंसिर ९ गतेसम्म अवैध रूपले चोरी पैठारी तथा निकासी गरेको १६ लाख ५३ हजार २ सय ५० रुपैयाँ बराबरको विभिन्न सामान तथा चौपाया बरामद गरेको छ।
सो अवधिमा गुल्मले ईलाम जिल्लाको सुर्योदय नगरपालिकाको सातवटा छुट्टाछुट्टै ठाउँहरूमा गरेको कारबाहीका क्रममा स्याउ, फर्सिको बियाँ, जुत्ता चप्पल तथा मदिराजन्य पदार्थ लगायतका सामान बरामद गरेको हो।
बरामद गरिएका सामानमध्ये १ सय ७८ कार्टुन अर्थात ३ हजार ५ सय ६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ, जुत्ता चप्पल, ५ सय ७० किलो फर्सिको बियाँलगायतका सामान तथा चौपाया रहेका छन्।
उक्त सामानहरू सूर्योदय नगरपालिका अन्तर्गत मानेभञ्ज्याङ, चारमाइल तथा नाकापानी सीमा इलाका र खोलागोदाम क्षेत्रबाट बिओपी मानेभञ्ज्याङ र बिओपी छब्बिसेसहितको संतुक्त टोलीले बरामद गरेको थियो। सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरीले निरन्तर गस्ती, पट्रोल र निगरानी गर्दै आएको छ।
मिडिया समन्वयको क्षेत्रमा लामो समयदेखि उत्कृष्ट काम गर्दै आएका सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह प्रवक्ता शैलेन्द्र थापाको फिल्ड कमाण्ड पनि अब्बल देखिएको छ। उनले छोटो समयमा तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेका छन्। मिडिया समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका डिएसपी सशस्त्र प्रहरी नायव उपरीक्षक थापाले फिल्डमा समेत उत्कृष्ट कार्य गरेका छन्।
विगतमा समेत राष्ट्र र संगठनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरे वापत उनलाई २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उत्कृष्ट मिडिया समन्वय पुरस्कारबाट पुरस्कृत गरेका थिए।
प्रकाशित: ११ मंसिर २०८३ ०९:३३ शुक्रबार



