समाज

आईजीपी थापा भन्छन्: नेपालमा ४/५ थरीका गुण्डा छन्, टोले, फ्याउरे, व्यावसायिक र संरक्षित

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले हाल नेपालमा चार/पाँच प्रकृतिका गुण्डाहरू सक्रिय रहेको बताएका छन्।

उनले विगतको जस्तो संगठित ‘गुण्डाराज’ नभए पनि विभिन्न स्वरूपमा आपराधिक समूहहरू सक्रिय रहेको र प्रहरीले उनीहरूमाथि सूक्ष्म निगरानी गरिरहेको बताए।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै महानिरीक्षक थापाले गुण्डाहरूको वर्गीकरण गर्दै प्रहरीले उनीहरूलाई निस्तेज पार्न लागिपरेको बताए।

‘विगतमा जस्तो गुण्डाराजको आतंक, हप्ता असुली, महिना असुलीको अवस्था अहिले छैन,’ उनले भने, ‘तर अहिले पनि व्यक्ति गुण्डाका चार/पाँच प्रकार छन्।’ 

आईजीपी थापाका अनुसार पहिलो टोले गुण्डा हुन्। उनीहरु आफ्नो टोल वा सानो क्षेत्रमा प्रभाव जमाएर दादागिरी देखाउने समूह हुन्। अर्का अवसर खोजेर सानातिना आपराधिक गतिविधिमा संलग्न हुने फ्याउरे गुण्डा। व्यावसायिक गुण्डा चाहिँ अपराधलाई नै पेशा बनाएर संगठित रूपमा काम गर्ने समूह।

‘यी सबैको गतिविधि शान्ति सुरक्षा खल्बल्याउने र अपराध गर्ने नै हो,’ आईजीपी थापाले भने, ‘प्रहरी यी सबैप्रति निर्मम भएर अगाडि बढ्छ।’

उनले ७७ वटै जिल्लाका प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका युनिटहरूले यस्ता व्यक्ति र समूहको रेकर्ड राखेर निरन्तर निगरानी गरिरहेको जानकारी दिए।

उनले भने, ‘उनीहरुका गतिविधि हेरिरहेका छौं। बेलाबेलामा त्यस्ता अपरेसन चलाएर त्यसलाई कानुनी दायरामा ल्याउने काम गर्छौं।’

यो पनि पढ्नुहोस्

आईजीपी थापालाई प्रश्न: गुन्डा नै मन्त्री भएपछि सल्युट गर्दा कस्तो हुन्छ ?

प्रकाशित: ४ भाद्र २०८२ २०:१४ बुधबार