समाज

आइजिपीका ‘सय दिन’: ५७८१ फरार प्रतिवादी पक्राउ

नेपाल प्रहरीका ३३औं महानिरीक्षक दानबहादुर कार्कीले नेतृत्व सम्हालेको सय दिनमै संगठनभित्र सुधार र अपराध नियन्त्रणमा उल्लेख्य उपलब्धि देखिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार फैसला कार्यान्वयन अभियानअन्तर्गत मात्र पाँच हजार सात सय ८१ फरार प्रतिवादी पक्राउ परेका छन्। तीमध्ये एक हजार नौ सय ६० वर्ष कैद सजाय र ३८ करोड ३६ लाख २७ हजार रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेका अभियुक्त समावेश छन्।

गत कात्तिक २७ गते पदभार ग्रहण गरेका कार्कीको नेतृत्वमा जघन्य तथा गम्भीर प्रकृतिका अपराधमा अनुसन्धान दर उच्च रहेको दाबी गरिएको छ। यस क्रममा कर्तव्य ज्यानका एक सय २३ घटनामा एक सय ८८ अभियुक्त पक्राउ गरिएको जबर्जस्ती करणी तथा उद्योगका चार सय ७५ घटनामा चार सय ४५ अभियुक्त कानुनी दायरामा आएको उल्लेख छ।

त्यस्तै लागुऔषध नियन्त्रणतर्फ दुई हजार चार सय ५५ जनाविरुद्ध एक हजार पाँच सय ४८ मुद्दा दर्ता भएका छन्। यस क्रममा १७ हजार किलोभन्दा बढी गाँजा, चार सय २० किलो चरेस, १० किलो हेरोइन, पाँच किलो अफिम, पाँच किलो पोल्यान्ड, २१ ग्राम कोकिन तथा अन्य प्रतिबन्धित पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। साथै दुई सय ५५ नाल अवैध हतियार बरामद गरिएको छ।

हराएका चार हजारभन्दा बढी व्यक्तिलाई परिवारको जिम्मा लगाइएको छ भने करिब ६० करोड रुपैयाँ बराबरका सुन, चाँदी, अवैध मुद्रा, हुन्डी, काठ तथा भन्सार छलीका सामग्री नियन्त्रणमा लिइएको छ।

कार्कीले जिल्ला प्रहरी कार्यालयहरूको मासिक कार्यसम्पादन मापन गर्ने ‘कार्यसम्पादन मूल्यांकन मार्गदर्शन’ लागु गरेका छन्। सरुवा प्रणाली व्यवस्थित गर्दै आफ्नो दरबन्दीमा हाजिर भएपछि मात्र दर्ज्यानी चिह्न प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याइएको छ।

प्रहरी प्रधान कार्यालयमा एआई सेल स्थापना गरिएको छ भने हराएका सवारी साधन र व्यक्तिहरूको विवरण अनलाइनमार्फत दर्ता र खोजी गर्न मिल्ने व्यवस्था मिलाइएको छ। यसले सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुगेको प्रहरी दाबी छ।

सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न गरिएको छ। ३७ युनिटको अनुगमन, सातदोबाटो, बौद्ध र कोटेश्वरसहित विभिन्न स्थानका सात प्रहरी भवन उद्घाटन तथा १२ कार्यालयका लागि जग्गा प्राप्ति गरिएको छ। विभिन्न निकायबाट प्राप्त दुई सय ४० सवारी साधन मातहतमा वितरण गरिएका छन्।

कार्कीले पदभार ग्रहण गर्दा गरिएको प्रतिबद्धताअनुसार कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मका कर्मचारीका लागि ‘आकस्मिक सहुलियत कर्जा’ अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याइएको छ। रासन स्केलमा देखिएको असमानता हटाउँदै फागुन १ देखि लागु हुने गरी तीन नयाँ सामग्री थप गरी रासन भत्ता १० प्रतिशतले वृद्धि गरिएको छ।

उनको नेतृत्वमा समुदाय–प्रहरी साझेदारीअन्तर्गत २७ हजार पाँच सय २८ कार्यक्रम सञ्चालन गरी १२ लाखभन्दा बढी नागरिक लाभान्वित भएका छन्। उपत्यकाका तीन जिल्लामा ‘हाम्रो प्रहरी’ कार्यक्रम सम्पन्न गरिएको छ।

अमर तथा सहिद प्रहरी परिवारसँग भेटघाट, विपन्न समुदायमा न्यानो कपडा र खाद्यान्न वितरण, मानव सेवा आश्रम तथा गुरुकुलमा सहयोग जस्ता सामाजिक पहल पनि यस अवधिमा भएका छन्। कार्कीले गुल्मीस्थित विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

देशभर चार सय ५६ सिसिटिभी क्यामेरा जडान गरिएको छ। उग्रवादी गतिविधि र सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिने अभियुक्त विदेशबाट पक्राउ गरी नेपाल ल्याइएको प्रहरी भनाइ छ।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन सुरक्षा योजना तर्जुमा गरी सरोकारवाला निकायसँग समन्वय तीव्र पारिएको छ। महानिरीक्षक कार्कीको नेतृत्वमा बितेको सय दिनलाई प्रहरी प्रधान कार्यालयले ‘संगठनात्मक रूपान्तरणको प्रारम्भिक चरण’ का रूपमा व्याख्या गरेको छ।

प्रकाशित: १९ फाल्गुन २०८२ ११:५४ मंगलबार