नेपाल प्रहरी महानिरीक्षक(आइजिपी) चन्द्रकुवेर खापुुङ्गले प्रहरीप्रति नागरिकको ठुलो आस्था र भरोसा रहेको बताएका छन्। मंगलबार प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवनको उद्घाटन गर्दै आइजिपी खापुङले प्रहरीप्रति नागरिकको भरोसालाई जीवन्त बनाइराख्नुपर्ने बताएका हुन्।
‘नेपाल प्रहरी प्रति नागरिहरूको ठूलो आस्था र भरोसा छ,’ आइजिपी खापुङले भने, ‘सो भरोसालाई जीवन्त बनाइराख्न विगतका कमी कमजोरीहरूको विश्लेषण गर्दै शिष्ट आचरण र व्यवहारका साथ उत्कृष्ट कार्यसम्पदान गर्नुपर्छ।’ कानुन कार्यान्वयन तथा समाजमा घट्ने हरेक विपत्ति, दुर्घटना र असामान्य परिस्थितिहरूमा प्रहरी अग्रपंक्तिमा रही सेवा प्रवाह गर्ने भएकैले नागरिकमा प्रहरीप्रति आस्था रहेको पनि उनले बताए।
नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवाभावका साथ सेवा प्रवाहमा थप चुस्तता ल्याउने आइजिपी खापुङ्गले विश्वास व्यक्त गरे। ‘प्रहरीको सेवा प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिक बिचको सम्बन्ध अझ सुमधुर र सुदृढ हुनेमा म विश्वस्त छु,’ उनले भने।
नेपाल सरकारको नियमित बजेटबाट कुल चार करोड ४६ लाख १८ हजार १९७ रूपैयाँ लागतमा भवन निर्माण भएको प्रहरीले जनाएको छ।
प्रकाशित: ११ कार्तिक २०८२ १९:०५ मंगलबार