सोमबार त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालकको मृत्यु भएपछि प्रहरीले उनको वास्तविक पहिचान अर्जुन दोङ तामाङ भएको पुष्टि गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक दोङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३, सिस्नेरीका बासिन्दा हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनको जन्ममिति २०५७ साल कात्तिक ७ गते हो।
सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसभित्र चालक दोङले आगो लगाएका थिए। ट्राफिक प्रहरीसँगको विवादपछि उनले आफूले चलाएको बसभित्रै आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
आगोमा परी गम्भीर घाइते भएका दोङलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। अस्पतालका अनुसार उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो। दिउँसो करिब १ बजे अस्पताल पुर्याइएका उनको गएराति उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दोङ यसअघि पनि दुईवटा घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ती घटनामा उनले अन्य व्यक्तिको नाममा जारी भएका सवारीचालक अनुमतिपत्र तथा परिचयपत्र प्रयोग गरेको पाइएको प्रहरीको दाबी छ।
२०८२ साल कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा दोङ संलग्न रहेको र घटनापछि फरार रहेको खुलेको प्रहरीले जनाएको छ। उक्त घटनाका क्रममा उनले सुनील तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ।
त्यस्तै, करिब तीन महिनाअघि मुलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा पनि उनले दाबा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्रिपुरेश्वरको पछिल्लो घटनामा भने दोङले दाबा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट उक्त अनुमतिपत्र भेटिएपछि प्रहरीले मृतकलाई दाबा लामा भएको जानकारी दिएको थियो। थप अनुसन्धानपछि वास्तविक पहिचान अर्जुन दोङ तामाङ भएको खुलेको हो।
प्रहरीका अनुसार दोङले दाबा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरेको हुन सक्ने तथ्यहरू अनुसन्धानका क्रममा फेला परेका छन्। अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा सरकारी कागजात प्रयोग गरेको विषयमा थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
प्रकाशित: ६ आश्विन २०८३ १२:३२ मंगलबार