समाज

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र बाँडिदै

जेन-जी आन्दोलनका क्रममा घाइते भएकालाई जिल्ला प्रशासन कार्यालय मोरङले परिचयपत्र बाँड्न थालेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले  बिहीबारदेखि परिचयपत्र वितरणको काम थालेको हो ।  

विराटनगर-५का सूर्य कोइरालालाई पहिलो परिचयपत्र प्रदान गरेर मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले परिचयपत्र वितरण सुरू गरेका हुन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार परिचयपत्रका लागि दाबी गर्न आए घाइतेहरूलाई जिल्ला प्रशासन कार्यालयले परिचयपत्र उपलब्ध गराउँदै जाने छ ।  

मोरङमा जेन-जी आन्दोलनका क्रममा ७१ जना घाइते भएका छन् । घाइतेहरूलाई परिचयपत्रसँगै २० हजार रुपैयाँ नगद पनि प्रदान गरिने कोइरालाले बताए ।

२० हजार रुपैयाँ सम्बन्धित व्यक्तिको बैंक खातामा पठाइने उनले बताए । जेन-जी आन्दोलनका क्रममा घाइते भएकाको विवरण  गृहमन्त्रालयले पठाएको र सोहि अनुसार परिचयपत्र र नगद वितरण गरिने कोइरालाले बताए । 

प्रकाशित: २३ आश्विन २०८२ १५:१७ बिहीबार