इन्जिनियरिङ भू–विज्ञान तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय संघ(आईएईजी)ले काठमाडौंमा आयोजना गरेको १५औँ एसियाली क्षेत्रीय सम्मेलन शनिबार सम्पन्न भएको छ ।
सम्मेलनमा २० भन्दा बढी मुलुकका ३६० प्रतिनिधि तथा वैज्ञानिक सहभागी रहेको आयोजकले जनाएका छन् । सम्मेलन नेपाल भूविज्ञान समाज (एनएसईजी) र आईएईजीका बंगलादेश नेशनल ग्रुप (आईबीएनजी) को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
यस वर्षको सम्मेलनका प्रमुख विषय ‘जिओलोजिकल इन्जिनियरिङ फर सोसाइटल एण्ड सस्टेनेबल डेभलपमेन्ट’ रहेको थियो ।
सम्मेलनमा २१७ वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिएका थिए, जसमा १९० मौखिक प्रस्तुति थिए भने २७ पोस्टर प्रस्तुत गरिएको थियो । सम्मेलनका क्रममा प्रस्तुति तथा छलफल भू–क्षय, भूकम्पीय जोखिम, ढुंगान्दी र सुरुङ–इन्जिनियरिङ, जलवायुगत जोखिम, भू–सूचना प्रविधि र दिगो अवसंरचना विकाससम्बन्धी विषयमा केन्द्रित रहेको सम्मेलनका सयोजक प्रा डा रञ्जन कुमार दाहालले जानकारी दिए । उनका अनुसार सम्मेलनमा आधुनिक सुरुङ तथा भूमिगत निर्माणका इन्जिनियरिङ भू–विज्ञानको प्रगति, पर्वतीय क्षेत्रमा गहिरो–स्तरका भू–स्खलन र हाइड्रोथर्मल प्रभावबारे समिक्षात्मक विश्लेषण गरिएको थियो ।
जलवायु परिवर्तनले विकासोन्मुख तथा विकसित देशहरूमा ल्याएको फरक–फरक चुनौतीका बारे प्रस्तुती र छलफल भएका थिए । यसैगरी गहिरा चट्टानी भूस्खलन र तिनका बस्ती तथा पूर्वाधारमा पर्ने प्रभाव, वास्तविक समयका हिमनदी अस्थिरता अनुगमन प्रविधिका बिषयमा सम्मेलनमा छलफल भएको थियो ।
भूकम्पपछिका अवसादन तथा भूस्खलन जोखिम, बहु–जोखिम व्यवस्थापन र दिगो विकासमा नेपालको एकीकृत दृष्टिकोण लगायत भू–जोखिम मूल्यांकनमा रिमोट सेन्सिङ प्रविधिको नयाँ प्रगतिका बारेमा पनि अनुभव साटासाट भएको थियो ।
यसैगरी, काठमाडौं उपत्यकाका तालको माटोको संरचना र सम्भावित प्राकृतिक खतरा, शहरका शहरका गहिरा उत्खनन चुनौती, सामुदायिक–आधारित जोखीम न्यूनीकरण, गेग्रान वहाब(डेब्रिस फ्लो)जोखिम, जोखीम मुल्याकन तथा स्वचालित भू–जोखिम प्रारम्भिक चेतावनी प्रणालीको स्थापनका बिषयमा पनि सम्मेलनमा चर्चा भएको प्राध्यापक दाहालले बताए ।
सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न कार्यशाला तथा प्रशिक्षण भएका थिए भने इन्जिनियरिङ भूगर्व विज्ञानमा महिलाको सहभागिता विषयक अन्तर्क्रिया भएको थियो। काठमाडौं उपत्यकाको भू–वैज्ञानिक अवलोकन भ्रमण पनि गरिएको थियो । सम्मेलनपछि पोखरा, इलाम–झापा–कोशी क्षेत्रतर्फका फिल्ड भिजिटका कार्यक्रम छन् र यी भ्रमण डिसेम्बर २ सम्म जारी रहनेछन्।
काठमाडौं सम्मेलनले एशियाली क्षेत्रका वैज्ञानिक तथा संस्थाबीच सहकार्य विस्तार गर्दै दिगो तथा सुरक्षित विकासका लागि इन्जिनियरिङ भू–विज्ञानको भूमिकालाई अझ सबल बनाएको नेपाल भूविज्ञान समाज (एनएसईजी)का अध्यक्ष प्राध्यापक कुमुद राज काफ्लेले जानकारी दिए ।
प्रकाशित: १३ मंसिर २०८२ १७:२८ शनिबार