रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ९५ जनाभन्दा बढी नागरिकको मृत्यु भएको छ।
विपद्मा फसेका नागरिकहरूको खोज तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्रहरू परिचालन गरिएको र उद्धार कार्य रातभर जारी रहने प्रधानमन्त्री बालेन शाहले जानकारी दिएका छन्।
बुधबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीका कारण पुगेको अपूरणीय मानवीय र भौतिक क्षतिले सिङ्गो देश स्तब्ध भएको बताए।
उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हेलिकोप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको सकुशल उद्धार गरिसकेको छ।
घाइतेहरूको निःशुल्क र सहज उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या सुरक्षित गरिएको छ। यस्तै, ट्रमा सेन्टर, सुरक्षा निकायका चिकित्सक टोली, नेपाल स्काउट र विश्व स्वास्थ्य संगठनका स्वास्थ्यकर्मी तथा अत्यावश्यक औषधि बाढी प्रभावित क्षेत्रमै पठाइसकिएको प्रधानमन्त्रीले बताए।
बाढीबाट नुवाकोटको विदुर; रसुवाको उत्तरगया र गोसाइँकुण्ड; धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। ती क्षेत्रहरूमा खानेकुरा, शुद्ध पिउने पानी, औषधि र अस्थायी आवासको तत्काल व्यवस्था मिलाइएको छ।
आपत्कालीन स्वास्थ्य सेवा र रगतको अभाव हुन नदिन बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र, लायन्स क्लब र स्थानीय सांसदहरूसँग निरन्तर समन्वय भइरहेको उनले बताए।
बाढीबाट भत्किएका सडक, पक्की पुल, विद्युत् र खानेपानी आयोजनाहरू प्राथमिकताका साथ पुनर्निर्माण गरिने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री शाहले भने, ‘तपाईंहरूले भोग्नुपरेको पीडा सानो छैन, तर यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न। उद्धार, उपचार, खानपिन र पुनःस्थापनाको पूर्ण जिम्मेवारी राज्यले लिन्छ।’
प्रधानमन्त्री शाहले राहत र उद्धार अभियानमा आ-आफ्नो क्षेत्रबाट हातेमालो गर्न उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था, युवा स्वयंसेवक र आम नागरिकहरूमा हार्दिक अपिलसमेत गरेका छन्।
प्रकाशित: १० भाद्र २०८३ १९:३७ बुधबार