समाज

भाेटेकाेशी बाढी: ‘बगेको ठाउँमा फर्कन मन छैन’

रसुवा धुन्चेका ३० वर्षीय रामजी विश्वकर्मा भदौ १० गतेको बिहान सम्झनै चाहन्नन्। त्यो दिन सम्झ्यो कि आफूले मृत्यु भोगेको दिनजस्तै लाग्छ। उनी यतिखेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन्। उनी भदौ १० गते बिहान २१६ मेगावाटको अपर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र नियमित काम गर्दै थिए। त्यहाँ आवश्यक सामान आइचर गाडीबाट ओसार्नु उनको नियमित काम थियो।

विश्वकर्मा त्यो दिन सुरुङभित्रै थिए। एक्कासि साथीहरूले ‘बाढी आयो’ भन्दै हल्ला गरे। उनी गाडीभित्र सुरक्षित बस्ने सोचले गाडी स्टार्ट गर्न भित्र पस्न खोज्दै थिए। भित्र पस्न नपाउँदै बाढी आयो। सिसा फुटेर लेदो पस्ने सोचेर गाडीमाथि दुई तला खट बनाइएको थियो। त्यही खटमा उनी बसे तर बाढीले उनी चढेको गाडी नै बगायो। गाडी बग्दा ढल्किएर उनलाई पनि बगायो। उनले सुरुङभित्र देखिएका ड्रम तथा अन्य सामान जेजे भेटे, सबै समात्दै गए तर बाढीले उनलाई बगाइरह्यो। यसरी उनी करिब एक किलोमिटर बगे। त्यतिबेला उनको बग्ने क्रम रोकियो। रोक्नुको कारण रहेछ, सुरुङको आकार नाप्ने फलामको भारी फर्मा। फर्मामा रोकिँदा उनको आधा शरीर लेदोभित्र थियो। शरीरको पछिल्लो भागभरि घाउ नै घाउ थिए। हातमा फलामको सुइरो पसेर गहिरो घाउ बनेको थियो।

विश्वकर्मा रोकिएको ठाउँबाट बाहिर निस्कन खोज्दै थिए। सुरुङभित्र बाँचेकाहरू ‘बचाओ’ भन्दै कराउन थाले। तीमध्ये कतिपयसँग मोबाइल थियो। उनीहरूले मोबाइल निकालेर बाले। भित्र आँखैअगाडि एउटा शव देखे। अलि पर सेफ्टी बेल्टमा झुन्डिएकै अवस्थामा अर्को शव थियो। बाँचेकाहरू आपसमा ‘बचाओ’ भन्दै अँध्यारो सुरुङभित्र कराउन थाले। आपसमा १० जना जम्मा भए।

सुरुङभित्रकै पानी पिए। बाँचेकाहरू लाइटर र मोबाइल बालेर अडिटतर्फको प्वालबाट बाहिर निस्के। शरीरभरि हिलो र लुगाको नाममा भित्री वस्त्र मात्र बाँकी थियो। ‘अब बाँचिन्न भनेर बाहिर निस्कने सल्लाह गर्‍यौं,’ उनले भने।

यी सबै कठिनाइ पार गर्दै उनीसहित १० जना सुरुङबाहिर निस्के। आकाशमा हेलिकोप्टर उडिरहेका थिए। उद्धारका लागि हात हल्लाए र रातो रुमाल पनि देखाए तर कसैले देखेनन्। त्यसपछि उनीहरू हाइड्रोपावरभन्दा माथि डाँडामा पुगे। सोही दिन हेलिकोप्टरले उद्धार गरेर त्रिशूली पु¥यायो। लगत्तै त्रिशूली अस्पताल पुर्‍याइएका उनीहरूलाई भोलिपल्ट पुनः हेलिकोप्टरबाट काठमाडौंस्थित ट्रमा सेन्टरमा ल्याइयो।

आफन्तलाई रसुवाको मैलुङबाटै खबर गरिएको थियो। ट्रमा सेन्टरमा आफन्त पनि आए। बाढीमा हातको पाखुराभित्र गडेको मोटो सुइरोका कारण मासुभित्र माटो पसेको र बाढीले कानभित्र पानी पसेको तथा ढाडको छाला उप्किएको हुँदा उनको उपचार भइरहेको छ। ‘हातभित्र माटो पसेको रहेछ, अप्रेसन गरेर निकाल्नुभयो,’ उनले भने।

आफू बाँच्न सफल भए पनि रसुवाकै टिमुरेमा भन्सारबाट सामान बोक्ने डिब्बा गाडी चलाउने दाइ अहिलेसम्म फेला परेका छैनन्। बुवा सानैमा गुमाएका विश्वकर्माका दाइ पनि बेपत्ता भएपछि उनी एकल आमाका एक मात्र सन्तान बनेका छन्। श्रीमती विदेशमा रहेको उनले बताए।

विश्वकर्मा वर्षाको समयमा हाइड्रोपावरको मुख्य ढोका बन्द गरेको भए सबै जना बच्ने बताउँछन्। ‘मैले काम गर्ने सुरुङभित्र कम्तीमा एक सय जना थिए। ढोका बन्द भएको भए सबै बच्थे,’ उनले भने।

उनले यो सुरुङमा चालकको काम गर्न थालेको एक वर्ष भएको थियो। घटनाको नौ दिन बितिसक्दा पनि विश्वकर्मालाई घटना स्मरणमा आइरहन्छ। मन भुलाउन आफन्तले मोबाइल दिएका छन्। मोबाइल खोल्यो कि त्यही बाढीको घटना सम्झनामा आइदिन्छ। मन फेरि त्यतै पुग्छ। ‘बाँचिन्छ भन्ने लागेकै थिएन। अब सकेसम्म खोला छेउमा काम गर्न मन छैन,’ उनले भने।

‘केही कुरा खस्यो कि बाढी आएजस्तो लाग्छ’

भदौ १० कै बाढीबाट त्रिशूलीका ७० वर्षीय भक्तबहादुर नेपाली पनि बच्न सफल भए। उनी पनि ट्रमा सेन्टरमै उपचाररत छन्। भदौ १० गते त्रिशूली बजारमा बाढी आउँदै गरेकोबारे कतिपयले पहिल्यै सूचना पाएका थिए तर भित्रतिर उनीसम्म सूचना आएको थिएन।

‘मोबाइलमा म्यासेज दिइएको रहेछ, हामीलाई पत्तै भएन,’ भक्तबहादुरकी पत्नी चरी नेपालीले भनिन्। उनीहरू घरमा बसिरहेका थिए। बाढी आएको हल्ला आयो। बाढी घरनजिकै आइसकेको थियो तर घरमा अपांगता भएका पति र छिमेकीका दुई बच्चा थिए। चरीले उनीहरूलाई बाहिर निकालिन्। आफू पनि हाम फालिन्। फर्केर हेर्दा बाढी घरसम्मै आइसकेको थियो। फेरि पति र ती बच्चालाई झन् माथि कान्लामा लगिन्।

फर्केर हेर्दा घर सबै बाढीले छोपिसकेको थियो। त्यसपछि पुनः पतिलाई बोकेर अझ माथि लगिन्। भक्तबहादुर बेहोस भएका थिए। बाढी आएको थाहा पाएपछि काठमाडौंमा रहेका छोराले त्रिशूली अस्पतालमा रहेको थाहा पाए। त्यसपछि वडाध्यक्षलाई फोन गरी हेलिकोप्टरबाट नुवाकोटस्थित सेनाको क्याम्पमा लगियो। त्यहाँबाट छोराले गाडीमा राखेर ट्रमा सेन्टर ल्याएका हुन्।

उपचारमा रहेका भक्तबहादुरको देब्रे हातको कुम फुत्किएको रिपोर्ट आएको छ। बाढीको कुरा सम्झ्यो कि भक्तबहादुर दम्पतीका आँखा रसाउँछन्, मन त्रसित हुन्छ। ‘केही कुरा ढक्क खस्यो कि बाढी आएजस्तो हुन्छ,’ चरीले भनिन्। घरपसल सबै बगाएर बगर बनेको त्रिशूली बजारमा भक्तबहादुर दम्पतीलाई अब कहिल्यै फर्किन मन छैन। ‘बस्ती बगर बनेको छ, अब कसरी फर्केर जानु ?’ चरीले भनिन्।

‘घरबजार नभएकाले अब फर्केर त्यहाँ जानु छैन’

सेन्टरमै उपचाररत अर्घाखाँचीका ६० वर्षीय इन्द्रमणि गैरे यतिखेर भाँचिएको खुट्टा हेरेर टोलाइरहेका थिए। स्थायी घर अर्घाखाँची भए पनि जागिरका क्रममा उनले रसुवाको बेत्रावतीमा लामो समय बिताएर सानो घर पनि जोडेका थिए। सुरुमा शिक्षक रहेका उनी पछिल्लो समय अडिटर बनेर काम गर्दै आएका थिए।

भदौ १० गते घरमै बसेर अडिटको काम गरिरहेको बेला एक्कासि बाढी आयो। करिब दुई सय मिटर जति बगाएपछि उनी घिस्रिँदै नदीकिनारमा पुगे। शरीरमा लुगा थिएन, शरीरभरि हिलो थियो। एक विद्यार्थीले देखेपछि उनलाई सेनाले उद्धार गरे। त्यतिबेला नदीले उनको खुट्टा भाँचिसकेको थियो। दुई दिन त्रिशूली अस्पतालमा सामान्य उपचार गरेपछि १२ गते मात्र उनलाई ट्रमा सेन्टरमा ल्याइयो। बाढीले फोन बगाएकाले सुरुमा त्रिशूली र ट्रमा सेन्टरमा पनि कोही कुरुवा थिएनन्। उनले लचार दिन एक्लै बिताए। परिवारले जानकारी पाएपछि चार दिनपछि मात्र काठमाडौं आएर भेटे। ‘त्यो घटना सम्झ्यो कि झसंग हुन्छु,’ उनले भने, ‘घर पनि छैन, बजार पनि छैन, अब फर्केर जानु पनि छैन।’

‘आफैं पाखा लागेर माथि जंगलमा पुगें’

वार्डमै उपचाररत रसुवा बेत्रावतीका ५९ वर्षीय शम्भुलाल श्रेष्ठ पनि भदौ १० को बाढीमा बगेर बाँच्न सफल भएका हुन्। त्यो दिन श्रेष्ठ परिवार घरकै सानो पसलमा थिए। एक्कासि बाढी आयो। पत्तै नपाई सबैलाई बगायो। बगेकामध्ये शम्भुलाल श्रेष्ठ बच्न सफल भए। उनीसँगै बगेका श्रीमती र छोरी भने अझै बेपत्ता छन्। श्रेष्ठ भने बाढीमै पौडिएर बाँच्न सफल भएका हुन्। करिब दुई किलोमिटर बगेपछि पौडी खेलेर किनारमा पुगेको श्रेष्ठ बताउँछन्। ‘मलाई कसैले झिकेको होइन, आफैं पाखा लागेर माथि जंगलमा पुगेको हुँ,’ उनले भने।

माथि पुग्दा शरीरमा भित्री वस्त्रबाहेक केही थिएन। गाउँलेले नजिकको मेडिकल हुँदै उनलाई त्रिशूली अस्पताल पुर्‍याए। बाढीमा बगेका कारण उनको छातीमा रगत जमेको र हातको छाला उप्किएको छ। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। बेत्रावती बजारमै जीवनको धेरै अध्याय बिताएका श्रेष्ठ बाढीपछि बेत्रावतीलाई चटक्कै बिर्सने मोडमा पुगेका छन्। उनी भन्छन्, ‘अब के छ र जानु? यतै छोरीसँग बस्नुपर्ला।’

प्रकाशित: १९ भाद्र २०८३ ११:१८ शुक्रबार