कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैँमाथि गोली प्रहार गरेका छन्।
गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ। घाइते रामबहादुरलाई बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले बताए।
बुधबार अपराह्न गाउँ नजिकैको जङ्गलमा बाख्रा चराइरहेका बेला श्रीमती सञ्जितासँग रामबहादुरले विवाद गरी आफ्नो साथमा रहेको भरुवा बन्दुकले प्रहार गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता तिमिल्सिनाले बताए।
उनले भने, “गए राति स्थानीयवासीले जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ, घटना भएको समय यकिन भइसकेको छैन”, मृतक महिलाका माइती पक्ष आएपछि मात्र शव उठाउने तयारी हुँदै छ।
- रासस
प्रकाशित: ५ चैत्र २०८२ ०९:४० बिहीबार