झापाको बिर्तामोडमा श्रीमतीलाई फलामको रडले घोचेर घाइते बनाएपछि एक वृद्धले घरको तेस्रो तलाबाट हाम्फालेका छन्।
बिर्तामोड नगरपालिका–५, अन्नपूर्ण चोक निवासी ७२ वर्षीय घिरेन राजवंशीले शुक्रबार बिहान करिब ५ः३० बजे घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीमाथि फलामको रडले प्रहार गरेका थिए।
प्रहरीका अनुसार रडले पेटमा चोट लागेर घाइते भएकी गंगामुनीलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।
श्रीमतीमाथि आक्रमण गरेलगत्तै घिरेनले आफ्नै घरको तेस्रो तलाबाट हाम्फालेका थिए। हाम्फाल्ने क्रममा उनको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो।
गम्भीर घाइते भएका उनलाई पनि उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा बिहान करिब ६ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले घटनास्थलको मुचुल्का तयार गर्दै गरी थप अनुसन्धान अघि बढाएको छ।
प्रकाशित: ५ असार २०८३ १४:२४ शुक्रबार