भूकम्पले हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति गरेको छ। गत मंगलबार राती ९ बजेर ५३ मिनेट जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो। भूकम्पले त्यहाँका घर, गुम्बा, विद्यालयका भवन चर्केका छन्। कतिपय भवन भत्किने अवस्थामा पुगेको स्थानीयले बताएका छन्। भूकम्प पछि पनि बारम्बार धक्का महसुस गरेको स्थानीयले बताएका छन्।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्ह्र्वु गुरुङका अनुसार गाउँपालिकाका अधिकांश माटोको घर चर्केका छन्। कतिपय घर त भत्किने अवस्थामा पनि पुगेको उनले बताए। भूकम्प र त्यसपछिका बारम्बार आएका धक्कापछि स्थानीयहरु घरबाहिर टेन्ट टाँगेर बसेका छन्। दिनमा घर फर्किने र राती बाहिर खुला चौरमा टेन्ट टाँगेर सुत्ने गरेको उनले बताए।
‘भूकम्पले मानवीय क्षति मात्र नगरेको हो। नत्र भौतिक क्षति गरेको छ। यहाँका घरहरु सबैजसो चर्केका छन,’ उनले भने, ‘लोमान्थाङ गाउँपालिकाका अधिकांश घरहरु माटोले छाएका कच्ची घर छन्। ती मध्ये अधिकांश घर चर्केको र केही त भत्किने अवस्थामा पुगेका छन्।’
पानी कम पर्ने र चिसो हुने भन्दै हिमाली जिल्लाको माथिल्लो भेगका घरहरु माटोले बनाउने चलन छ। अहिले तिनै घर भूकम्पले चर्केको उनले बताए। उनका अनुसार लोमान्थाङ क्षेत्रमा केही घरहरु पक्कि भएपनि ती घरमा क्षति भएको छैन। होटल तथा अन्य पक्कि भवन सुरक्षित रहेको पनि उनले बताए। ‘बस्ती नै जोखिममा छन। गाउँलेलाई घर फर्किन पनि त्रास छ। बारम्बार धक्का पनि महसुस भईरहेकोले पनि कतिखेर कुन घर भत्किने भन्ने यकिन हुन सकेन। त्यसले गर्दा समस्या आइपरेको छ,’ उनले भने।
अध्यक्ष गुरुङका अनुसार लोमान्थाङका चारवटा वडामा बढिजसो प्रभाव परेको छ। लोमान्थाङ–१ र २ वडामा १३० वटाको दरले घर रहेका छन्। वडानम्बर ३ मा ८६ वटा घर रहेका छन। ४ नम्बर वडामा १ सय ५ वटाजति घर रहेका छन्। ती मध्ये अधिकांशमा क्षति भएको उनले बताए।
‘लोमान्थाङ गाउँपालिकामा मात्र करिब ४ सय घरमा क्षति भएको छ। घर भत्किएका त होईनन, तर, चर्किएका छन। कुनैपनि बेला भत्किन पनि सक्छ,’ उनले भने, ‘७० वटाजति त बस्नै नहुने अवस्थामा रहेका छन्।’
गाउँपालिकामा सबैगरि ७ सय घर रहेका छन्। लोमान्थाङ गाउँपालिकाको जनसंख्या १९ सय रहेको छ। चर्केका घर, गुम्बा, विद्यालय भवन सहितका संरचनाको क्षतिबारे तथ्यांक संकलन गरिरहेको उनले बताए। ‘गाउँपालिकासँग पनि पर्याप्त श्रोत छैन। तत्कालका लागि त्रिपाल चाहिएको छ। चिसो र हावा चल्ने भएकोले पनि समस्या छ,’ उनले भने। उनका अनुसार गाउँपालिकासँग अहिले श्रोत केही छैन। तत्काल सामान किन्नुपरेमा पनि पोखरासम्म धाउनुपर्ने उनले बताए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालका अनुसार घर चर्केपछि त्यहाँका बासिन्दा घरबाहिर बसेका छन्। रातीको समयमा सुत्नका लागि टेन्ट टाँगेका छन्।
‘लोमान्थाङ बजारभित्र केही पक्कि घर हुन। ती घर र होटलमा केही समस्या छैन। तर, कच्ची घरमा समस्या हो,’ लम्सालले भने, ‘भूकम्पपछि बारम्बार धक्का आइरहेकोले झनै समस्या थपिएको छ। स्थानीय त्रासमा बसेका छन। गाउँपालिकाले केही त्रिपाल दिएको छ। तर, पर्याप्त छैन।’
उनका अनुसार भवनको क्षति मुल्यांकन गर्न वडा कार्यालय मार्फत क्षति मुल्याकंन गर्न थालिएको छ। त्यसका लागि प्राविधिकहरु पनि गाउँमा खटाइएको छ। गाउँपालिकाभित्रको सबैतिरको क्षतिको विवरण नआइसकेको उनले बताए।
लोमान्थाङ गाउँपालिका–२ को दिव्यदीप माविको छात्राबास भवन चर्केपछि त्यहाँका विद्यार्थी पनि समस्यामा परेका छन। छात्राबासको भवन चर्केपछि पठनपाठन हुने विद्यालय भवनभित्रको कक्षा कोठामा राती सुत्ने गरेका छन्। कतिपय विद्यार्थी विद्यालय भित्रकै खुला चौरमा टेन्ट टागेर सुत्न बाध्य भएको विद्यालयले बताएको छ। विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाठीका अनुरा विद्यालयमा सबैगरि ८४ जना विद्यार्थी छन्। ती मध्ये ८० जना विद्यार्थी विद्यालयको छात्राबासमा बस्छन्। बाँकी चारजना घरबाट आउजाउ गर्छन। छात्राबासमा बस्ने ती विद्यार्थी अहिले रातीमा विद्यालयको टेन्टमुनि सुत्ने गरेका छन्।
‘भूकम्पले भवन चिराचिरा परेको छ। छात्राबास भवन पुरै चर्केको छ। विद्यालयमा सबैगरि ११ वटा कोठा छन्’ उनले भने, ‘तत्कालका लागि छात्राबासमा बस्न मिल्दैन। त्यही भएर तिनै कक्षाकोठालाई उपयोग गरेका छौं। विद्यार्थी बाँडिएर सुत्ने गरेका छन। केही विद्यार्थी दिँउसो पढाई हुने कक्षाकोठामा र केही बाहिर चौरमा टेन्टमुनि सुत्ने गरेका छन।’
प्रकाशित: २५ भाद्र २०८३ १७:२७ बिहीबार