समाज

काठमाडौंबाट यसरी पठाउनुहोस् भोटेकोशीका बाढीपीडितलाई राहत सहयोग

जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङ जिल्लाका भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री जुटाउन आह्वान गरेको छ।

बुधबार आएको बाढीले नदी किनारका क्षेत्रहरू तहसनहस बनाएपछि पीडितहरूलाई सहयोग गर्न प्रशासनले एक सूचना जारी गरेको हो। काठमाडौं जिल्लाभरि रहेका विभिन्न संघ, संस्था, व्यक्ति, कम्पनी र क्लबहरूलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायतका घरायसी प्रयोजनका सामग्रीहरू संकलन गरी उपलब्ध गराउन आग्रह गरिएको छ। 

संकलित सामग्रीहरू एकद्वार प्रणालीमार्फत जिल्ला प्रशासन कार्यालयमा जम्मा गरिनेछ। त्यसपछि सम्बन्धित जिल्लाका सुरक्षा निकाय र राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा ती सामग्री पीडितहरूसम्म पुर्‍याउने व्यवस्था मिलाइनेछ। 

यसैगरी, नगद सहयोग गर्न इच्छुकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा वा उपलब्ध क्युआरमार्फत सिधै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको प्रशासनले जनाएको छ।

प्रकाशित: १३ भाद्र २०८३ ०९:०८ शनिबार