समाज

चट्याङ परेको बेला कसरी जोगिने ?

पूर्वसावधानी नअपनाउँदा चट्याङ लागेर बर्सेनि ठुलो मानवीय क्षति हुने गरेको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आकाशमा बिजुली चम्केर गड्याङगुडुङ आवाज आउनु चट्याङको पूर्वसंकेत हो। यस्तो बेला विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।

मौसमविद् दाहालका अनुसार चट्याङ पर्दा बादलबाट अत्यन्त शक्तिशाली करेन्ट प्रवाह हुन्छ। उक्त करेन्ट कुनै पनि वस्तुमा पर्दा तीव्र गतिमा बग्ने र त्यसले गम्भीर क्षति पुर्‍याउने जोखिम रहन्छ। यसबाट जोगिन घरभित्र वा बाहिर जहाँ भए पनि सुरक्षाका निश्चित उपायहरू अपनाउनुपर्छ।

घरभित्र हुँदा अपनाउनुपर्ने सावधानी

चट्याङको जोखिमबाट बच्न घर तथा भौतिक संरचनाहरूलाई राम्ररी अर्थिङ गर्नुपर्छ। चट्याङ परेको समयमा विद्युतीय उपकरणहरू प्रयोग गर्नु अत्यन्तै जोखिमपूर्ण हुन्छ।

मौसमविद् दाहाल भन्छन्, ‘टिभी, कम्प्युटर, फ्रिजजस्ता बिजुलीबाट चल्ने सामानहरू बन्द गर्नुपर्छ र तिनका तार प्लगबाट छुट्याउनुपर्छ।’

यसका साथै, भित्ता, सिमेन्टको भुइँ र झ्यालमा नटाँसिई सुक्खा ठाउँमा बस्न विभागले सुझाएको  । झ्याल, भर्‍याङ र बरण्डामा लगाइएका ग्रिल तथा धातुका बारहरू छुनु हुँदैन। चट्याङ परेको करिब आधा घण्टासम्म घरबाहिर ननिस्कन आग्रह गरिएको छ।

घरबाहिर वा यात्रामा हुँदा कसरी बच्ने ?

यदि घरबाहिर भएको बेला बिजुली चम्किन र गड्याङगुडुङ गर्न थालेमा तत्काल सुरक्षित भवनभित्र जानुपर्छ। खुला ठाउँ वा जंगलमा भए होचो ठाउँ, कन्दरा वा ओडारभित्र आश्रय लिनुपर्ने मौसमविद् दाहालले बताएका छन्।

उनले भने, ‘यस्तो बेला रूख र बिजुलीको पोलमा ओत लाग्नु हुँदैन।’ त्यस्तै, खोला, पोखरी, जमेको पानी र तारबार गरिएको ठाउँबाट पनि टाढै रहनुपर्छ। पानी परेको छ भन्दैमा यस्तो बेला छाता ओढ्नु सुरक्षित हुँदैन।

गाडीभित्र यात्रा गरिरहेको अवस्थामा धातुका भागहरू नछोई गाडीभित्रै बस्नु सुरक्षित मानिन्छ। यदि सुरक्षित ओत लाग्ने ठाउँ कतै नपाएमा दुवै हात टाउकोमाथि राखेर निहुरिने र दुवै कुर्कुच्चा जोडेर थचक्क बस्नुपर्ने विभागले जनाएको छ।

घाइते भएमा के गर्ने ?

चट्याङ लागेर कोही घाइते भएमा तत्काल प्राथमिक उपचार गर्नुपर्छ। घाइतेको श्वासप्रश्वास र मुटुको धड्कन जाँच गर्नुपर्छ। यदि श्वासप्रश्वास बन्द भएको छ भने मुखमा मुख जोडेर कृत्रिम श्वासप्रश्वास (सिपिआर) दिनुपर्ने र जतिसक्दो चाँडो नजिकैको अस्पताल लैजानुपर्ने मौसमविद् दाहालले बताएका छन्।

प्रकाशित: १७ असार २०८३ १८:४१ बुधबार