समाज

कसको पालामा कति पैसा गयो मलेसिया?

श्रमका लागि मलेसिया जाने नेपाली कामदारसँग दुई देशबिचको सम्झौताविपरीत स्वास्थ्य परीक्षणका नाममा रकम असुल गरेको विषयमा चलिरहेको अनुसन्धानमा पूर्वमन्त्रीदेखि मुख्यसचिवसम्म तानिएका छन्।

मुद्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा चले पनि यसको अनुसन्धान भने प्रधानमन्त्री कार्यालयबाट भइरहेको छ। सूचनाबाहिर चुहिने आशंकामा तीन महिनादेखि सिआइबीको अनुसन्धान टोलीलाई प्रधानमन्त्री कार्यालयमै राखेर अनुसन्धान गर्न लगाइएको हो। अहिलेसम्मको अनुसन्धानबाट दुई पूर्वमन्त्रीसहित १० जना पक्राउ परेका छन् भने पक्राउ पुर्जी जारी गरिएका पूर्वमुख्यसचिव एकनारायण अर्याल भने फरार छन्।

अनुसन्धान टुंगोमा नपुगे पनि नेपाल सरकार र मलेसिया सरकारबिचको सम्झौताविपरीत स्वास्थ्य परीक्षणका नाममा श्रमिकसँग करिब दुई अर्ब रुपैयाँ असुल गरिएको निष्कर्षमा अनुसन्धान टोलीले निकालेको छ।

नेपाल सरकारले तोकेभन्दा एक सय रिंगेट (मलेसियाली मुद्रा ) असुली मलेसिया पठाउन भूमिका निर्वाह गरेको आरोपमा सिआइबीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन सचिव विनोद केसीलाई हिरासतमा लिएको छ। यही आरोप तत्कालीन श्रमसचिव (पछि मुख्यसचिव भएका) एकनारायाण अर्यालविरुद्ध पनि छ। उनी फरार छन्।

मलेसियाली सरकारले विदेशी कामदार लैजाँदा सहजीकरण गर्ने जिम्मेवारी त्यहाँको बेस्टिनेट कम्पनीलाई दिएको थियो। नेपाली कामदारलाई मलेसिया लैजाने सम्बन्धमा नेपाल सरकार र मलेसिया सरकारबिच २०७५ कात्तिक १२ गते सम्झौता भएको थियो। सहजीकरणका लागि बेस्टिनेट कम्पनीको शाखा भन्दै नेपालमा २०७६ सालमा माइक्रोटेक नाम कम्पनी स्थापना भयो। मेडिकल उपकरण आपूर्ति गर्ने गरी स्थापना भएको माइक्रोटेक कम्पनीले सम्झौताविपरीत नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्दा नेपाल सरकारले तोकेभन्दा एक सय रिंगेट बढी लिएको सिआइबीको अनुसन्धानबाट खुलिसकेको छ।

यसरी असुल गरिएको पैसा अमेरिकी डलर र पाउण्ड स्टर्लिङमा रुपान्तरण गरी मलेसिया पठाइएको पाइएको छ। अहिलेसम्मको अनुसन्धानबाट १७ पटकसम्म यसरी पैसा पठाइएको छ। नेपाली मुद्रा डलर र पाउण्डमा रुपान्तरण गरी पठाउन तत्कालीन मन्त्रीद्वय यादव र कुँवर तथा तत्कालीन सचिव अर्यालले स्वीकृति दिएको खुलेको छ।

अनुसन्धानबाट २०७६ फागुन १५ गतेदेखि २०८० माघसम्म गरी ८२ लाख ५१ हजार २६२ अमेरिकी डलर र ३७ लाख १७ हजार २४४ पाउन्ड माइक्रोटेक कम्पनीको खाताबाट बेस्टिनेट कम्पनीको खातामा गएको खुलेको छ। तत्कालीन समयमा उक्त अमरिकी डलरको नेपाली मूल्य करिब ९० करोड बढी र पाउण्ड स्टर्लिङको मूल्य ५० करोड बढी हुन आउँछ। यसमा तत्कालीन मन्त्री र सचिवहरूको भूमिका शंकास्पद देखिएपछि उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान थालिएको स्रोतले बतायो।

यादव २०७६ मंसिरदेखि २०७७ पुस १० सम्म श्रममन्त्री थिए। उनका पालामा ११ लाख ८६ हजार ९४६ लाख पाउण्ड स्टर्लिङ र २ लाख १४ हजार ६५८ अमेरिकी डलर मलेसिया पुगेको अनुसन्धानबाट खुलेको छ।

२०७६ पुस २१ गते २ लाख ४५ हजार ९४६, फागुन १५ गते ६ लाख ९३ हजार, चैत १० मा २ लाख ४८ हजार पाउण्ड स्टर्लिङ बेस्टिनेट कम्पनीको नाममा पठाउन अनुमति दिइएको छ। त्यस्तै २०७७ साउन १२ गते २ लाख १३ हजार ६५८ अमेरिकी डलर बेस्टिनेटको खातामा पठाइएको छ।

त्यस्तै कुँबर २०७९ असार १३ गतेदेखि पुस ११ गतेसम्म श्रममन्त्रीको जिम्मेवारीमा थिए। उनको कार्यकालमा माइक्रोटेक कम्पनीले २५ लाख ३० हजार २९८ पाउण्ड बेस्टिनेट कम्पनीको खातामा पठाउने अनुमति पाएको खुलेको छ। त्यसपछि शरदसिंह भण्डारी र डिपी अर्याल (हालका सभामुख) पनि श्रममन्त्री भएका थिए। तर उनीहरूले मलेसिया पैसा पठाउन स्वीकृति दिएको नदेखिएको स्रोतको दाबी छ।

श्रम मन्त्रालयले कैलाश खडकाका नाममा रहेको माइक्रोइटेक कम्पनीलाई विदेशी मुद्रा बेस्टिनेट कम्पनीको खातामा पठाउन चार पटक मात्रै औपचारिक निर्णय गरेर अनुमति दिएको छ तर माइक्रोटेक र बेस्टिनेटबिच १७ पटक कारोबार भएको अनुसन्धानबाट खुलेको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार चार पटकबाहेक अन्य सबै निर्णय पुरानैबमोजिम भन्दै राष्ट्रबैंकलाई पत्राचार गरिएको छ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार अर्याल तत्कालीन श्रम मन्त्रालयको सचिव हुँदा करिब ८० लाख अमेरिकी डलर मलेसिया पठाउन माइक्रोटेक कम्पनीले अनुमति पाएको छ।

अर्याल २०७८ मंसिरदेखि २०८० जेठसम्म श्रमसचिवको जिम्मेवारीमा थिए। अनुसन्धान स्रोतका अनुसार पक्राउ परेका खडकासँग अर्यालको पुरानो सम्बन्ध देखिएको छ। मुख्य सचिवबाट अवकाश भएपछि पनि अर्याल र खडकाबिच पटकपटक संवाद भएको खुलेको छ। ‘अर्यालको काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदादेखि नै खडकासँग सम्बन्ध भएको देखिन्छ। सामान्य चिनजान मात्रै भएको मान्छेसँग मुख्य सचिवबाट अवकाश भएपछि पनि निरन्तर संवाद हुनु स्वाभाविक होइन,’ स्रोतले भन्यो।

अर्याल सचिव हुँदा एक पटकमा १७ लाख अमेरिकी डलरसम्म बेस्टिनेट कम्पनीको खातामा गएको छ। माइक्रोटेक कम्पनीको लक्ष्मी सनराइज बैंकमा रहेको खाता नम्बर ...१००१ बाट बेस्टिनेट कम्पनीको खाता नम्बर ...१८९२ मा पैसा गएको छ। सिआइबीले पैसा पठाउन अनुमति दिएर दुईमन्त्री र सचिवले लिएको लाभ विवरण संकलन गर्ने काम पनि गरिरहेको छ।

पूर्वश्रममन्त्री राजेन्द्रसिंह भण्डारी अहिले भैरहेको अनुसन्धान नेपालमा मात्रै गरेर नहुने बताउँछन्। मलेसिया जान चाहने नेपालीबाट स्वास्थ्य परीक्षणका नाममा दुई देशबिचको सम्झौताविपरीत असुलिएको ठुलो रकम मलेसिया गएको देखिएकाले यसको यसको अनुसन्धान मलेसियामा पनि हुनुपर्ने उनको भनाइ छ। ‘त्यो पैसा दुई देशबिचको सम्झौताविपरीत उठाएर लगिएको हो कि होइन भन्ने त त्यहाँबाट पनि तथ्य आउनु पर्छ नि’, उनले भने।

प्रकाशित: ५ मंसिर २०८३ ०७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App